म्यानचेस्टर युनाइटेड विजयी

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, १९ : ३४
म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं । म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो खेलमा जित निकालेको छ। सुरुवाती दुई खेलमा लगातार हार व्यहोरेको म्यानचेस्टर युनाइटेडले शनिबार भएको प्रतियोगिताको चौथो खेलमा साउथहेम्टनलाई १–० ले पराजित गर्दै अंक तालिका सुधार गरेको हो।

साउथहेम्टनको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलमा दोस्रो हाफमा युनाइटेडले अग्रता बनाएको थियो। डियोगो डलोटको सानदार पासलाई ब्रुनो फर्नान्डेसले ५५ औँ मिनेटमा गोलमा परिणत गर्दा युनाइटेडले अग्रता बनाएको थियो।

त्यसपछि पनि खेलमा म्यानचेस्टर युनाइटेडले दबाब बनाएको थियो। साउथहेम्टनले भने घरेलु मैदानमा पाएको सीमित अवसरलाई सदुपयोग गर्न असफल भयो। अतिरिक्त समयमा एक सुन्दर मौका चुकाउँदा साउथहेम्टन संभावित बराबरीको अवसरबाट बञ्चित भएको थियो।

जितसँगै युनाइटेड ४ खेलबाट ६ अंक बनाएर छैटौं स्थानमा उक्लिएको छ। अघिल्लो खेलमा युनाइटेडले लिभरपुललाई पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस