त्रिभुवन विश्वविद्यालय शिक्षाको केन्द्रविन्दु होः शिक्षामन्त्री पौडेल

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, २० : ३२
त्रिभुवन विश्वविद्यालय शिक्षाको केन्द्रविन्दु होः शिक्षामन्त्री पौडेल

काठमाडौैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालय सिंगो शिक्षाको केन्द्रविन्दु भएको बताएका छन्। शुक्रबार ‘उच्च शिक्षा सुधार, सम्भावना र चुनौति’बारे त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस प्रमुखहरूसँगको छलफलमा मन्त्री पौडेलले देशको ८० प्रतिशत जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय शिक्षाको केन्द्रविन्दु भएको बताए।‘त्रिभुवन विश्वविद्यालय समग्र शिक्षाको केन्द्रविन्दु हो,’ शिक्षामन्त्री पौडेलले भने, ‘हामीले हल गर्न सक्ने कुरा हामी मिलेर हल गरौँ अरुलाई आरोप प्रत्यारोप लगाउने काम बन्द गरौं।’

विश्वविद्यालयमा बेथिति बढ्दै गएको बताउँदै उनले त्यसलाई सुधार्न शिक्षा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे।‘त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी हुनु राम्रो पक्ष होइन, प्रधानमन्त्रीले पनि विश्वविद्यालयमा लगाइने तालाबन्दी सधैँका लागि अन्त्य गरिनुपर्ने बताउँदै आउनुभएको छ,’ मन्त्री पौडेलले निर्देशन दिँदै भन्नुभयो, ‘समस्याको समाधान तालाबन्दी होइन, वार्तामार्फत टुंग्याऊँ नभए बल प्रयोग गरेर भए पनि तालाबन्दी खुलाऊँ।’

उनले विश्वविद्यालयका आंशिक, करार कर्मचारीको समस्या समाधानका लागि अर्थ मन्त्रालयसँग पहल भइरहेको जानकारी दिए।‘आंशिक तथा करार कर्मचारीले स्थायी हुनुप¥यो भनेर विभिन्न संघ संगठन निर्माण गरेर आउने गर्नुभएको छ,’ उनले भने, ‘सेवा आयोगमार्फत अन्तिम पटक आन्तरिक प्रतिस्पर्धा गराएर अरु खुला प्रतिस्पर्धामार्फत ल्याउने कुरा लागू गरौँ।’

विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणमा वल्र्ड बैंक, एडिभी बैंकसँग पनि छलफल भइरहेको भन्दै त्रिचन्द्र क्याम्पसको भवन सरकारले बनाउने बताए।छलफलमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति धर्मकान्त बास्कोटाले राजनीतिक खिचातानीले विश्वविद्यालय बिग्रिँदै गएको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस