बार्सिलोना र सिटीबीच ३-३ गोलको बराबरी

एजेन्सी

विहीबार, ०९ भदौ २०७९, ०८ : ४७
बार्सिलोना र सिटीबीच ३-३ गोलको बराबरी

एजेन्सी । मैत्रीपूर्ण खेलका लागि बार्सिलोना भ्रमणमा पुगेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु समर्थकमाझ ३-३ गोलको बराबरी खेलेको छ ।  नउ क्याम्पमा बुधबार राति भएको खेलमा बार्सिलोना र सिटीबिच रोमाञ्चक बराबरी भएको हो।

‘द ग्रेट गेम फर द ग्रेट कज’ अर्थात महान कार्यका लागी महान खेलका रूपमा यो मैत्रीपूर्ण खेललाई नामकरण गरिएको थियो। खेलको उद्देश्य निको नहुने नसासम्बन्धीको रोग एमियोट्रोफिक लेटरल स्क्लेरोसिस (एएलएस) सम्बन्धी सचेतना र पीडितलाई उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्य राखिएको थियो। यो रोगबाट बार्सिलोनाका पूर्वगोलरक्षक प्रशिक्षक ह्वान कार्लोस पनि पीडित रहेका छन्।

खेलमा पहिलो हाफ १-१ गोलको बराबरी भए पनि दोस्रो हाफमा दुबै टिमले थप दुई-दुई गोल गरेका थिए। घरेलु टोली बार्सिलोनाका लागि पिएरे एमेरिक औवामियाङ, फ्रान्की डि जोङ र मेम्फिस डिपाएले गोल गरेका थिए। सिटीका जुलयिन अल्भारेज, कोल पाल्मेर र रियाद महारेजले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए।

रोमाञ्चक खेलमा २१ औँ मिनेटमा जुलियन अल्भारेजको गोलबाट सिटीले खेलमा अग्रता लिएको थियो। तर २९ औँ मिनेटमा औवामियाङले बार्सिलोनालाई बराबरीमा ल्याए। ६६ औँ मिनेटमा फ्रान्की डि(जोङले गोल गर्दै बार्सिलोनालाई खेलमा २-१ को अग्रता दिलाए।

बार्सिलोनाको त्यो अग्रतालाई सिटीले ७० औँ मिनेटमा तोड्न सफल भयो। कोल पाल्मेरले दोस्रो गोल गर्दा पुन ७८ औँ मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनालाई पुनः ३-२ को अबस्थामा पुर्‍याएका थिए।