अहिलेसम्म समानुपातिकमा ५ दलको मात्र तीन प्रतिशतभन्दा बढी मत

विहीबार, २८ मंसिर २०७४, १३ : १६
अहिलेसम्म समानुपातिकमा ५ दलको मात्र तीन प्रतिशतभन्दा बढी मत

चितवन, २८ मंसीर । प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ७१ प्रतिशत मतगणना सकिएको छ । १ करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ७५ लाख १४ हजार ३ सय ६१ मत गणना भइसकेको छ ।

प्रत्यक्षतर्फ एकतर्फी अग्रता लिएका एमाले समानुपातिकमा पनि अगाडि छ ।   कांग्रेसभन्दा  एमाले ८५ हजार मतले अघि छ । अर्थात एमालेले अहिलेसम्म कुल मतको ३४ प्रतिशत ल्याएको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा कांग्रेसभन्दा १३ सिट अघि रहेको दोस्रो दल माओवादी केन्द्रले समानुपातिकमा निकै कम मत ल्याएको छ । उसले १३.६० प्रतिशत मत ल्याएको छ । प्रत्यक्षमा तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले समानुपातिकमा सुधार गर्दै ३३.२१ प्रतिशत मत पाएको छ ।

बिहिबार बिहान सम्मको परिणामअनुसार संघीय समाजवादी फोरम नेपालले पनि थ्रेस होल्डका लागि चाहिने तीन प्रतिशत मत कटाएको छ । उसले ४.६ प्रतिशत मत ल्याइसकेको छ । यस्तै राष्ट्रिय जनता पार्टीले ३.९ प्रतिशत मत ल्याएको छ।

नयाँ शक्ति पार्टी नेपाल, राप्रपा(प्रजातान्त्रिक), राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड कटाउन नसक्ने देखिएको छ । राप्रपा र विवेकशील नेपालले पनि थ्रेसहोल्ड कटाउन सकेका छैनन्, तर उनीहरु थ्रेसहोल्डको नजिक छन् । राप्रपा र विवेकशीलले समान २.२६ प्रतिशत मत ल्याएर संघर्ष गरिरहेका छन्।

कसको कति मत ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले)- २५८३५८८

नेपाली कांग्रेस- २४९६६५६

माओवादी केन्द्र- १०२१७३४

संघीय समाजवादी फोरम, नेपाल ३४५६८६

राष्ट्रिय जनता पार्टी नेपाल- २९१७३४

विवेकशील साझा पार्टी – १७०२९८

राष्ट्रिय प्रजातन्त्र पार्टी  –  १६९१९३

नयाँ शक्ति पार्टी, नेपाल- ६८०२०

अन्य- ३६७४५२

प्रतिक्रिया दिनुहोस