लाइसेन्स परीक्षामा शंकास्पद प्रवेश पत्र भेटिएपछि  सशस्त्र प्रहरी पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, ०८ : ३७
लाइसेन्स परीक्षामा शंकास्पद प्रवेश पत्र भेटिएपछि  सशस्त्र प्रहरी पक्राउ

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको प्रवेशपत्र शंकास्पद भेटिएपछि प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।  सुर्खेत प्रहरीले सोमवार सशस्त्र प्रहरी बल मेहेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत दैलेखको गुराँस गाउँपालिका–४ का भक्तबहादुर शाहीलाई पक्राउ गरेको हो ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार गत साउन ११ गते दिएको मोटरसाइकलको सवारी चालक अनुमतिपत्र परीक्षाको (लिखित र मौखिक) प्रवेशपत्रमा यातायात व्यवस्था कार्यालयका कर्मचारीको कीर्ते सही र छाप लगाई पास (उत्तीर्ण) लेखिएको शंकास्पद प्रवेशपत्र भेटिएको थियो ।

यातायातका कर्मचारीले शंकास्पद प्रवेशपत्र देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले वीरेन्द्रनगर–७ स्थित यातायात्र व्यवस्था कार्यालयमै पुगेर शाहीलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले कर्मचारीको सही, कार्यालयको छाप सक्कली हो वा होइन भनेर अनुसन्धान गरिने बताए । ‘प्रवेशपत्रमा पास लेखिएको छ, विस्तृत अनुसन्धान हुँदैछ,’ उनले भने, ‘सम्बन्धित कार्यालयकै कर्मचारीले शंकास्पद ठानेर खबर गरेपछि नियन्त्रणमा लिएका हौं ।’

यसैबीच प्रहरीले अवैध लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–११ पिपिरास्थित देउती बज्यै मन्दिर नजिकबाट सोही ठाउँका १९ वर्षीय प्रतीक केसीलाई पक्राउ गरेको हो । प्रदेश लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले केसीको कोठाबाट बाकसमा प्लाष्टिकभित्र लुकाएर राखिएको खैरो हिरोइनजस्तो देखिने एक पुडिया लागूऔषध फेला पारेको हो ।