मकवानपुर । बागमती प्रदेश सरकारले आगामी दसैँ लगत्तै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण गर्ने तयारी गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले ५ स्थानबाट लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको हो ।
प्रदेशबाटै ‘क्यूआर कोड’ सहितको लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको मन्त्रालयले जनाएको छ । लाइसेन्सका लागि वर्षौँ कुर्नुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य गर्ने उद्देश्यले प्रदेशका ५ स्थानबाट सेवा दिने तयारी भइरहेको मन्त्रालयकी प्रवक्ता सुनिता गजुरेलले बताइन् ।
यसअघि चालक अनुमतिपत्र यातायात व्यवस्था विभागमार्फत मात्र छापिँदै आएको थियो । उक्त सिस्टम प्रदेशमै ल्याएर लाइसेन्स छपाइ गरिने प्रवक्ता गजुरेलको भनाइ छ । उनका अनुसार लाइसेन्स छपाइ सेवा विभागमा मात्र सीमित हुँदा चाप बढेसँगै सेवाग्राहीले समयमै लाइसेन्स पाउन कठिन भएको थियो ।
यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार करिब ३० लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी छ । त्यसमध्ये बागमती प्रदेश अन्तर्गतमात्र १८ लाख लाइसेन्स छाप्न बाँकी रहेको मन्त्रालयको अनुमान छ ।
विगत तीन वर्षअघि ट्रायल पास गरेका र नवीकरणका लागि निवेदन दिएका सेवाग्राहीले पनि लाइसेन्स पाउन सकेका छैनन् । केन्द्र सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०८० माघ ७ गते प्रदेशहरूले पनि लाइसेन्स छाप्न सक्ने निर्णय गरेअनुसार बागमती प्रदेशले सेवा सञ्चालन गर्न लागेको हो ।
मन्त्रालयले इटालियन कम्पनीको मेसिन खरिद गरेको सूचना अधिकारी विनोद कुमार भट्टराईले जानकारी दिए । उनका अनुसार ५ करोड ४० लाख रुपैयाँमा ५ वटा मेसिन खरिद गरेर जडानको क्रममा छन् । गत चैतमा मन्त्रालयले टेण्डर आह्वान गरेपछि मालिका कर्पोरेसन काठमाडौँले सम्झौता गरेर मेसिन सप्लाइ गरेको उनको भनाइ छ ।
प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाका अनुसार प्रदेशबाट लाइसेन्स छपाइ र वितरण कार्य सुरु भएपछि सेवाग्राहीले सहज सुविधा पाउने छन् ।
५ वटा मेसिनबाट प्रतिघण्टा ७५० लाइसेन्स छाप्नसक्ने मन्त्री थापाले जनाए । प्रत्येक प्रिन्टरबाट प्रतिघण्टा १५० वटा लाइसेन्स छापिने जानकारी उनले दिए । लाइसेन्स छपाइ र वितरणका लागि मन्त्रालयले पूर्वाधारको व्यवस्थापन गरिरहेको उनको भनाइ छ । मेसिन सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति मन्त्रालयसँगै तयारी अवस्थामा राखेको उनले बताए ।
‘दसैँ–तिहारलगत्तै नागरिकले सहज रूपमा लाइसेन्स सेवा पाउनेछन् । हाम्रो एकमात्र लक्ष्य जनतालाई यो झन्झटबाट मुक्त गर्नु हो,’ मन्त्री थापाले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ भदौ २०८२, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१,०५६ सवारी लाइसेन्स सार्वजनिक
लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै
घुस दिएर लाइसेन्स लिनेको बिचल्ली
लाइसेन्स प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा
टिपरका लागि छुट्टै लाइसेन्स व्यवस्था गरौँ : सांसद झा
शङ्कास्पद लाइसेन्स परीक्षणमा