चीन र रुसका राष्ट्रपति एक सम्मेलनका लागि बाली जाने

एजेन्सी

शुक्रबार, ०३ भदौ २०७९, १६ : ३०
चीन र रुसका राष्ट्रपति एक सम्मेलनका लागि बाली जाने

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आउँदो नोभेम्बरमा एक सम्मेलनमा सहभागी हुने भएका छन् ।

सी र पुटिन बालीमा हुने जी २० सम्मेलनमा सहभागी हुने तयारीमा रहेको इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।‘सी जिनपिङ आउनु हुनेछ । राष्ट्रपति पुटिनले पनि मलाई आउँछु भन्नु भएको छ’, ब्लुमबर्ग न्यूजसँगको अन्तर्वार्ताको क्रममा विडोडोले भनेका हुन् ।

सम्मेलनमा दुवै नेता सहभागी हुनेबारे औपचारिक पुष्टि भएको यो पहिलोपटक हो। रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेयता र ताइवानलाई लिएर तनाव उत्कर्षमा पुगेका बेला हुन लागेको यो पहिलो विश्वव्यापी सम्मेलन हो ।

यो सम्मेलनमा सहभागी भएमा चिनियाँ राष्ट्रपति सीले सन् २०२० को जनवरीपछि पहिलोपटक चीन छोड्ने छन्। कोरोना भाइरसको महामारीका कारण सीमा बन्द गरेपछि सी यो वर्षको जुलाई १ मा हङकङ गएका थिए।नोभेम्बरमा हुने सम्मेलन बहुप्रतिक्षित मानिएको छ, सो सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि सहभागी हुने अपेक्षा छ। तर उनले पुटिनसँग भेट गर्ने छन् वा छैनन् भन्नतर बाइडेन र सीबीच प्रत्यक्ष वार्ता हुन सक्ने खबरहरु भने आएका छन्। तनावमा रहँदै आएको अमेरिका–चीन सम्बन्ध हालै अमेरिकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमणपछि थप तनावमा छ।

प्रतिक्रिया दिनुहोस