हुम्लाका विद्यालयको पीडा : पुस्तक छ तर पाठ छैन

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, ०८ : ४४
हुम्लाका विद्यालयको पीडा : पुस्तक छ तर पाठ छैन

सिमकोट । हुम्लाको एक विद्यालयमा कक्षा आठको नेपाली विषयका दुई वटा पाठको विषयवस्तु नछापिएर आएपछि शिक्षक र विद्यार्थी अन्यौलमा परेका छन्। पाठको शीर्षक भएपनि विषयवस्तु सबै खाली आउँदा के अध्ययनरअध्यापन गर्ने भन्ने अन्यौलता भएको हो।

जिल्लाको बालमन्दिर माध्यामिक विद्यालयमा नेपाली विषय अध्यापन गर्ने प्रधानाध्यापकसमेत रहेका कैलाश रोकायाले जनक शिक्षाको लाप्रवाहीले दुई वटा पाठको विषयवस्तु पुस्तकमा नहुँदा आफूहरूलाई समस्या भएको बताए। पाठको शीर्षक मात्र छापिएर आएको भएपनि अन्य कुनै त्यसको परिभाषा र अन्य कुरा नहँदा विद्यार्थी र शिक्षक दुवै अन्योलमा परेको उनको भनाइ छ। उनीहरूले हाल पुरानै पुस्तक अध्ययन अध्यापन गर्दै गराउँदै आएका छन्।

यसरी पाठका विषयवस्तु नछापिएर आएका पाठहरूमा पाठ तीनको देवकुमारी थापा र चारको ग्रन्थचित्र रहेका छन्। नयाँ भर्खरै आइपुगेको उक्त पुस्तकमा ती पाठका विषयवस्तु र गृहकार्य गर्नुपर्ने कुरा केहीपनि नछापिएको कारण समस्या खडा भएको छ। उनले यस्को दोष कसलाई लगाउने भन्दै यतिसम्मको लाप्रवाही गर्ने निकायलाई कार्वाहीको भागीदार हुनुपर्ने बताए।

उक्त कक्षाकी छात्रा अलिस्मा बोहराले यति धेरै गम्भीर त्रुटी हुनु राम्रो नभएको बताउँदै यसको समस्या तत्काल समाधान गर्न सरोकारवाला पक्षसँग आग्रह गरिन्। उनले शीर्षक मात्र भएर केही गर्न नसकिने बताउँदै पूर्ण पाठ नपढी विद्यार्थीहरूले जानकारी लिन नसक्ने बताइन्।यसको समस्या समाधान नभइ यसभित्र विद्यार्थीहरूले गर्नुपर्ने कुनैपनि क्रियाक्लाप गर्न नसकिने भएको छ। कक्षा आठमा ५६ जना विद्यार्थीहरू अध्ययनरत् छन्।

यता जिल्लाकै कैलाश मावि डाँडाफयाँले नयाँ पुस्तक नै नलिएको कारण समस्या हुने छैन्। तर सिमकोट र नाँम्खा गाउँपालिकाका अन्य छ वटा विद्यालयमा भने सो समस्या उस्तै रहेको छ।  यस्तो समस्या नभएपनि कक्षा नौ शिक्षा पुस्तकमा टाइप गर्न गल्ती गर्दा एउटा शब्द उल्लेख गर्नुपर्नेमा अर्कै टाइप भएर आएको ताँजाकोट गाउँपालिका शिक्षा शाखाका संयोजक जयरुद्र ढकालले बताए।

प्रतिक्रिया दिनुहोस