विशाल ग्रुपले नेपालमै थाल्यो ट्रयाक्टर टायर उत्पादन, भारतीयभन्दा सस्तो

सफल खबर संवाददाता

शनिबार, २८ साउन २०७९, ११ : १०
विशाल ग्रुपले नेपालमै थाल्यो ट्रयाक्टर टायर उत्पादन, भारतीयभन्दा सस्तो

विराटनगर । नेपालमै निजी लगानीबाट स्थापित पहिलो टायर उद्योग ग्रीन टायर प्रालिले शेर्पा ब्रान्डमा थप ६ प्रकारका टायरको उत्पादन सुरु गरेको छ। मोरङको विराटनगरस्थित ग्रीन टायरले तीन भिन्नभिन्न प्रकारका ट्रयाक्टरलाई काम लाग्ने अगाडि र पछाडिका गरी जम्‍मा छ थरीका टायरको उत्पादन गर्न थालेको हो ।

विशाल ग्रुपले ५० करोड सुरुआती लगानीबाट यो उद्योग संचालनमा ल्याएको थियो। अहिले २५ करोड लगानी थप गरेर ट्रयाक्टरका टायरको पनि व्यावसायिक उत्पादन सुरु गरिएको जानकारी उद्योग व्यवस्थापनले दिएको छ। यससँगै यस उद्योगमा समूहको कुल ७५ करोड लगानी पुगेको छ। उद्योगले २०७३ सालदेखि डेल्टा ब्रान्डमा मोटर साइकल र थ्री ह्विलरका टायरको उत्पादन गरेर आफ्नो व्यवसाय सुरु गरेको थियो।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बिहीबार साँझ आयोजित समारोहमा कम्पनीले उत्पादन थालेको शेर्पा ब्रान्डका ट्रयाक्टर टायरको उद्घाटन गरे।उद्योगका सञ्चालक विनित सिँघानियाका अनुसार उच्च पहाडी भेगमा चल्ने ६० एचपीभन्दा बढीका, भित्री मधेस तथा सामान्य पहाडी भेगमा चल्ने ६० एचपीका र तराईमा चल्ने ३५ देखि ४५ एचपीका ट्र्याक्टरका साना र ठूला दुवैखाले टायरको उत्पादन यस उद्योगले थालेको हो।

उनले साना टायरको प्रतिगोटा पाँच हजार र ठूला टायरको प्रतिगोटा ४० हजारका आसपासमा कारखाना मूल्य कायम गरिएको जानकारी सिँघानियाले दिए।उक्त मूल्य भारतमा उत्पादित विभिन्न ब्रान्डका ट्र्याक्टरका टायरका भन्दा १० देखि १५ प्रतिशतले सस्तो भएको उनको दाबी छ। उनले भारतीय कुनै पनि ब्रान्डका टायरका तुलनामा शेर्पा ब्रान्डका ट्र्याक्टरका टायरका तौल र गुणस्तर उच्च भएको पनि जिकिर गरे।

शेर्पा ब्रान्डका टायरमा काँटी गाडिने सम्भावना कम भएको, यी टायर हिलोमा नभासिने तथा नचिप्लिने, गहिरोमा पनि चलाउन सकिने र पन्चर हुने सम्भावना पनि कम भएको समेत उनको दाबी छ।सिँघानियाका अनुसार नेपालमा अहिले ट्र्याक्टरका लागि ठूला खाले टायरको वार्षिक माग ६० हजार थान छ । जसमा ग्रीन टायरले चार हजार थान मात्र ठुला खाले टायर उत्पादन गर्ने क्षमता राख्छ। यो भनेको कुल बजार मागको सात प्रतिशत हाराहारी हो। 

त्यस्तै, ट्रयाक्टरकै अगाडिपट्टिका सानाखाले टायरको वार्षिक माग एक लाख ५० हजार थान छ । यसमध्ये ग्रीन टायरले वर्षको ३० हजार थान मात्र उत्पादन गर्न सक्ने जनाइएको छ । ट्रयाक्टरका टायरको बिक्री देशभरिबाट हुन थालेपछि ग्रीन टायरले हेवी इक्विपमेन्ट, ट्रक, ट्रली, बस आदिका टायर पनि उत्पादन गर्ने योजना रहेको पनि सिँहानियाले बताए। 

 

प्रतिक्रिया दिनुहोस