रुकुमगाड विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न

सफल खबर संवाददाता

शनिबार, २८ साउन २०७९, १० : ४९
रुकुमगाड विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न

काठमाडौं । रुकुमपूर्वमा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न भएको छ ।  जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको विद्युत् आयोजनाको अहिलेसम्म ८९ प्रतिशत काम सम्पन्न भएको हो । रुकुमगाड खोलाबाट ५ मेगावाट विद्युत् उत्पादन गरिँदैछ ।

विद्युत् आयोजना निर्माणको काम राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले लिएको छ । अहिलेसम्म जलविद्युत संरचना निर्माणको सबै काम सकिएको छ भने पाइपलाइन विस्तारको काम ९५ प्रतिशत सकिएको छ ।प्रसारणको काम करिब अन्तिम चरणमा रहेको परियोजनाका सहायक प्रबन्धक रिक्की क्षेत्रीले जानकारी दिए । उनका अनुसार सिभिल संरचना निर्माणको काम सकिएको छ । विद्युत गृह निर्माणको काम पनि अन्तिम चरणमा छ । 

लागत खर्च १ अर्ब ३० करोड रहेको आयोजनाले जनाएको छ । सन् २०१८ बाट काम शुरू भएको यस आयोजनालाई आगामी मंसिर मसान्तभित्र पूर्णता दिने गरी काम भइरहेको सहायक प्रबन्धक क्षेत्रीले बताए । बीचमा कोभिडको कारण काममा केही असर परेको थियो ।

उनले मंसिर मसान्तभित्र आयोजनाको काम सकेर हस्तान्तरण गर्ने योजनाका साथ काम गरिरहेको बताए । रुकुमपूर्वमा उत्पादन गरिएको ५ मेगावट विद्युत् रुकुमपश्चिमका धैरेनीचौरमा रहेको सबस्टेसनमा जोडेर त्यहाँबाट वितरण गरिने छ । यसको तयारी पनि भइसकेको आयोजनाले जनाएको छ ।

आयोजनाले पूर्णता पायो भने रुकुमपूर्व जिल्लासँगै रुकुमपश्चिममा पनि विद्युत् सेवा नियमित हुनेमा आफू आशावादी रहेको सिस्ने गाउँपालिका–५ का टीका पुन शाहले बताए ।

प्रतिक्रिया दिनुहोस