कांग्रेस नेता निधि र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटवार्ता

रासस

आइतबार, २२ साउन २०७९, १३ : २०
कांग्रेस नेता निधि र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानबीच भेटघाट भएको छ । 

मध्यप्रदेशको राजधानी भोपालस्थित मुख्यमन्त्रीको कार्यालय बल्लभ भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन एवं आर्थिक विकासको सहयोगका विषयमा कुराकानी भएको थियो । सोह्र वर्षदेखि मध्यप्रदेशको मुख्यमन्त्री रहेका चौहानलाई कांग्रेस नेता निधिले नेपालको काठमाडौँ, जनकपुर र लुम्बिनी भ्रमणको निम्तो दिएका थिए । जवाफमा उनले निकट भविष्यमै नेपाल भ्रमण गर्ने बताएका पूर्वउपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

नेता निधि र राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) का महामन्त्री दत्तात्रेय होसबोलेबीच पनि भेटघाट भएको छ । मध्यप्रदेशको राजधानी भोपालको साकेत नगरस्थित वैद्य प्रदीप त्रिपाठीको निवासमा भएको एक घण्टा लामो भेटमा नेता निधि र होसबोलेबीच अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा कुराकानी भएको थियो । 

महामन्त्री होसबोले सत्तारुढ भारतीय जनता पार्टीको भ्रातृ सङ्गठन अखिल भारतीय विद्यार्थी परिषद्को महामन्त्री भएर काम गरिसकेका छन । इन्दिरा गान्धीको शासनकालमा भारतमा सङ्कटकाल जारी हुँदा उहाँ १६ महिना जेल बसेका थिए ।

प्रतिक्रिया दिनुहोस