‘नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति उद्योगी व्यवसायीका लागि असहज’

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, १९ : ०६
‘नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति उद्योगी व्यवसायीका लागि असहज’

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति उद्योगी व्यवसायीका लागि असहज भएको बताएका छन्।

शुक्रवार २८ औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एसोसिएसन (नेफा) ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने मौद्रिक नीति कसिलो आएकाले व्यवसायीका लागि सहज नभएको बताए।

उनले मौद्रिक नीतिले बैंकको ब्याजदर उच्च वृद्धि तथा तरलता अभावलाई अझ बढाउने बताए। उनले राष्ट्र बैंकको कसिलो मौद्रिक नीति छोटो समयका लागि मात्रै रहने निजी क्षेत्रले विश्वास गरेको उल्लेख गरे।

अध्यक्ष गोल्छाले मौद्रिक नीतिले व्यवसायीलाई सहज नभए पनि औद्योगिक उत्पादनका लागि बैंक ब्याजदरमा छुट दिने व्यवस्था उत्साहजनक रहेको बताए।उनले अहिले अर्थतन्त्रमा देखिएका समस्या पनि धेरै लामो समयसम्म नरहने दाबी गरे। गोल्छाले आगामी वर्ष ५ प्रतिशतले रेमिट्यान्स बढ्न सके व्यापार घाटा, भुक्तानी सन्तुलन वा शोधानान्तर स्थितिमा सुधार आउने बताए। उनले पछिल्लो ६ महिनामा मात्रै २३० प्रतिशत नेपाली श्रमिक विदेश गइरहेकाले रेमिट्यान्स बढ्न सक्ने बताए।

अध्यक्ष गोल्छाले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा वस्तुहरूको मूल्य घट्दै आएकाले नेपालको व्यापार घाटा कम हुने विश्वास रहेको उल्लेख गरे। उनले पछिल्लो ६ महिनाको तथ्यांक हेर्दा नेपालमा विदेशी लगानी ७ प्रतिशतले बढेको बताए। गोल्छाले कोरोना महामारीका बेला शून्यमा आएको पर्यटन व्यवसाय अहिले चलायमान भएको भन्दै भिजिट नेपाल २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य अबको एक दुई वर्षमा पूरा हुने बताए।

उनले भने, ‘अहिलेको समस्यालाई पार लगाउनका लागि भर्खरै नयाँ मौद्रिक नीति आएको छ। मौद्रिक नीति कसिलो भएको छ। मौद्रिक नीति हामी उद्योगी व्यवसायीका लागि सहज हुँदैन। मौद्रिक नीतिले अहिलको भन्दा अझ बढी बैंकिङ ब्याजदरलाई वृद्धि गर्छ। बजारमा विद्यमान रहेको तरलता अभावलाई बढाउँछ। तर, हामीलाई के विश्वास छ भने यो नीति छोटो समयका लागि मात्रै हुन्छ। दीर्घकालीन रुपमा अहिलेको आएको मौद्रिक नीतिले सम्बोधन गर्ने निजी क्षेत्रले विश्वास पनि लिएका छौं। अहिले अर्थतन्त्रमा देखिएका समस्या धेरै लामो चल्दैन भन्ने विश्वास लिन सकिन्छ। मौद्रिक नीतिले औद्योगिक उत्पादनमा बैंक ब्याजदरमा केही छुट दिने कुरा उत्साहजनक छ। विश्व बंैकको रिपोर्ट हेर्दा यसपालिको डलर ट्रममा रेमिट्यान्स ५ प्रतिशतले बढ्नेछ। हाम्रो रेमिट्यान्सको वेस धेरै ठूलो छ। ५ प्रतिशत रेमिट्यान्स बढ्ने हो भने हाम्रो ब्यापार घाटा, भुक्तानी सन्तुलन वा शोधानान्तर स्थितिमा सुधार आउन सक्छ। पछिल्लो ६ महिनामा मात्रै २३० प्रतिशत नेपाली श्रमिक दाजुभाइ दिदीबहिनी नेपालबाट विदेश गइरहेका छन्। यो विषय राम्रो होइन तर उहाँहरू नै अर्थतन्त्रका मेरुदण्ड छन्। उनीहरूले पठाउने रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चल्ने हो। विश्वमा नै पेट्रोलिय पदार्थको डलर मूल्य घटदै गएर ८० डलरमा आउने विज्ञहरूले भनेकाले यसले नेपालको व्यापार घाटालाई कम गर्ने सहयोग पुग्नेछ। आयात हुने वस्तु फलाम, खाद्यान्नको मूल्य अन्तर्राष्ट्रिय र रुपमा घटेकाले हाम्रो व्यापार घाटामा केही भए पनि राहत दिनेछ। अहिलेको समस्या हुनेछैन। पछिल्लो ६ महिनाको तथ्याङ्क हेर्ने हो भने विदेशी लगानी ७ प्रतिशतले बढेको छ। कोरोना महामारीको बेला शून्यमा आएको पर्यटन व्यवसाय अहिले चलायमान भएको छ। भिजिट नेपाल वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य अबको एक दुई वर्षमा पूरा हुनेछ। पर्यटकहरूले नेपालमा आएर गर्ने खर्चले नेपालको शोधनान्तर स्थिस्ति सुधार हुन्छ भन्ने आशा छ।’

अध्यक्ष गोल्छाले पछिल्लो समय नेपालको निर्यात उत्साहजन रुपमा बढेको बताए। उनले विद्युत्, सिमेन्ट र फलामजस्ता सामान निर्यात शुरु हुनु अर्थतन्त्र सुधारको सकारात्मक संकेत रहेको बताए। गोल्छाले पछिल्लो समय विश्व बैंक, एसियाली विकास बैंकहरूले नेपालको विकास निर्माणमा लगानी प्रतिबद्धता बढ्दै गएकाले अहिले देखिएको अर्थतन्त्रको समस्या क्रमशः सुधार हुने देखिएको बताए।

प्रतिक्रिया दिनुहोस