एसईईको नतिजा सार्वजनिक, ९ हजार ६३३ जनाले ल्याए ‘ए प्लस’

सफल खबर संवाददाता

बुधबार, ११ साउन २०७९, १६ : ०५
एसईईको नतिजा सार्वजनिक, ९ हजार ६३३ जनाले ल्याए ‘ए प्लस’

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको  छ। बोर्डले बुधबार एसईई नतिजा सार्वजनिक गरेको हो।

परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएको बोर्डले जानकारी दिएको छ।  देशभरका दुई हजार ७०० परीक्षा केन्द्रबाट उनीहरुले परीक्षा दिएका थिए।

त्यस्तै, ए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ६ सय २७ छ। गत वर्ष र अघिल्लो वर्ष आन्तरिक मूल्यांकन विधिबाटै नतिजा सार्वजनिक गरेको बोर्डले यस वर्ष भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरी नतिजा सार्वजनिक गरेको हो।

गत वैशाख ९ देखि २० गतेसम्म एसईई परीक्षा भएको थियो। परीक्षाको नतिजा बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको परीक्षा नियन्त्रक कार्यालयले जानकारी दिएको छ।

यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस