पहिराले डुम्रे बेँसीसहर सडक अवरुद्ध

रासस

सोमबार, ०९ साउन २०७९, २१ : ४१
पहिराले डुम्रे बेँसीसहर सडक अवरुद्ध

तनहुँ । लमजुङ तनहुँ जोड्ने डुम्रे बेँसीसहर सडक पहिरोले अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक विष्णु विकले बताए । 

उनका अनुसार वैकल्पिक सडकका रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध भएको हो ।  सडक अवरुद्ध बन्दा काठमाडौं, पोखरा, चितवन लगायतबाट बेँसीसहर आउँदै गरेका सवारी साधनका यात्रु अलपत्र परेका छन् । पानी परिरहेकाले पहिरो झरिरहेको छ । 

करिब तीन घण्टादेखि अविरल वर्षा भइरहेकाले मर्स्याङ्दी नदीमा पानीको बहाव बढेमा सडक कटान गर्ने उच्च जोखिमसमेत रहेको छ । ४२ किलोमिटरको यस सडकमा बर्खायाममा सवारी साधन तथा यात्रुहरुलाई निकै समस्या भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस