निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउँछ : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १२ : ५९
निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउँछ : प्रधानमन्त्री देउवा

हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष पत्रकारितामा जोड दिएका छन् । शुक्रबारबाट हेटौंडामा सुरु भएको  नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढेको भन्दै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा बताए ।

‘राजनीतिक स्थायित्वको विषयमा पत्रकारिता जगतले कलम चलाउनुपर्ने आवश्यक छ । परिवर्तनका लागि भएको नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूर्ण रहेको छ,’ देउवाले भने ।

कोरोनाकालमा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको उनले स्मरण गरे । ‘सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुन्छ । लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ,’ उनले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको जनाए ।

प्रधानमन्त्री देउवाले निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिने बताए । ‘हामी आमनिर्वाचनको तयारीमा छौं । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाइदिनुहुन अनुरोध गर्दछु,’ प्रधानमन्त्री देउवाले भने ।

नेपाली कांग्रेसको शुभेच्छुक संगठनको रूपमा रहेको युनियनको महाधिवेशनमा सहभागी हुने देशभरबाट पत्रकार, प्रतिनिधि तथा शुभेच्छुक गरी करिब दुई हजार जना हेटौंडामा भेला भएका छन् । भेलाले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वको विषयमा दुई खेमामा विभाजन भएर उम्मेदवारी घोषणा सुरु भइरहेको छ । महाधिवेशनमा सहभागी हुन कांग्रेसका शीर्ष नेतृत्व हेटौंडामा आएका छन् ।

प्रतिक्रिया दिनुहोस