‘प्रश्नहरूको कारखाना’को हिन्दी अनुवाद ‘सवालों का कारखाना’ सार्वजनिक

मंगलबार, २२ जेठ २०७५, १६ : ५५
‘प्रश्नहरूको कारखाना’को हिन्दी अनुवाद ‘सवालों का कारखाना’ सार्वजनिक

काठमाण्डौ । कवि सरिता तिवारीको कवितासङ्ग्रह ‘प्रश्नहरूको कारखाना’को हिन्दी अनुवाद ‘सवालों का कारखाना’ सार्वजनिक भएको छ ।
वि.सं. २०७२ सालमा प्रकाशित तिवारीको कविताकृति ‘प्रश्नहरूको कारखाना’को हिन्दी अनुवाद मंगलबार काठमाण्डौको भृकुटीमण्डपमा जारी पुस्तक प्रदर्शनीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । तिवारीको उक्त कवितासङ्ग्रह २०७२ सालको मदन पुरस्कारको मनोनयन सूचीमा समेत परेको थियो ।

पुस्तक सार्वजनिकीकरण कार्यक्रममा वक्ताको रूपमा बोल्दै कवि तथा समालोचक डा. अमर गिरीले प्रगतिशील धारमा रहेर निरन्तर कलम चलाइरहेकी कवि सरिता तिवारीसँग केही विषयहरूमा आफ्नो असहमती रहे पनि सारमा तिवारीका कवितामा रहने प्रतिरोधी चेतनासँग आफ्नो असहमती नरहेको टिप्पणी गरे ।

कार्यक्रमका अर्का वक्ता तथा उक्त कविता सङ्ग्रहका अनुवादक प्रमोद धितालले समकालीन नेपाली कवितालाई हिन्दीभाषी पाठकहरूको माझमा पु¥याउन तिवारीको कविताकृति अनुवाद गरिएको बताए ।

तुलनात्मक रूपमा हिन्दी साहित्य नेपालमा लामो समयदेखि पढिदैँ आएको भए पनि भारतीय पाठकवृत्तमा नेपाली साहित्यले स्थान नपाएको अवस्थामा अनुवाद मार्फत् नेपाली साहित्यको विस्तारमा सहयोगी भूमिका खेल्न आफु अनुवादकर्ममा लागेको धितालको भनाई थियो ।

धितालले निकट भविष्यमै आफुले समकालीन नेपाली कवितामा प्रतिरोधी चेतनासहित कविता लेखिरहेका २५ जना कविका कविताहरूको हिन्दी अनुवाद गरी संकलन ल्याउन लागेको जानकारी समेत दिए ।

त्यस्तै पुस्तकको प्रकाशक संस्था परिकल्पना प्रकाशनको तर्फबाट बोल्दै लेखक सत्यम वर्माले एउटै सभ्यता र मिल्दोजुल्दो संस्कृतिको माझमा रहेर पनि नेपाल र भारतबीच साहित्यिक आदनप्रदान हुन नसक्नु ठूलो समस्या भएको औंल्याए ।

भूमण्डलीकरणको नाराले पूँजीवाद र साँस्कृतिक साम्राज्यवादको मात्रै सेवा गरेका बताउँदै वर्माले त्यसको प्रतिरोधमा लेखिने साहित्यको प्रवद्र्धन गर्नु आफुहरूको मूल उद्देश्य रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस