तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने

सफल खबर संवाददाता

शुक्रबार, १९ मंसिर २०८२, १२ : ४३
तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगावाट बिजुली तिला जलविद्युत् निर्माणका लागि रु सात अर्ब लाग्ने भएको छ । तिला गाउँपालिका-१ र ७ कालीकोट जिल्लाको तिलागुफा नगरपालिका-१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनउपर सार्वजनिक सुनुवाइमा आयोजनाका परामर्शदाता तथा वातावरणविद् सुरेन्द्रदेव भट्टले उक्त जानकारी दिए । 

तिलामा जलविद्युत् आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन चार वर्ष पहिला भइसकेको छ । तिला गाउँपालिका र तिलागुफा नगरपालिका भएर बग्ने तिला नदीमा निर्माण हुने प्रस्तावित आयोजनाको ‘डिजाइन डिस्चार्ज’ ५२ दशमलव ५१ घनमिटर प्रतिसेकेन्ड रहेको वातावरणविद् सुरेन्द्रदेव भट्टको भनाइ छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागबाट उक्त योजनाको नापजाँच २०७८ सालमा स्वीकृत भएको हो । आयोजना सञ्चालनबाट प्राप्त हुने रोजगारी, रोयल्टी, सेयर, सामुदायिक सहयोग कार्यक्रम तथा स्थानीय जनताको व्यापार व्यवसायबाट आयआर्जन गर्न जस्ता अनुकूल प्रभाव हुने भएकाले समग्रमा यस आयोजनाबाट स्थानीय स्तरदेखि राष्ट्रियस्तरसम्म लाभ पूग्ने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए।

प्रतिक्रिया दिनुहोस