इन्टर मियामीमाथि बार्सिलोनाको आधादर्जन गोल

एजेन्सी

बुधबार, ०४ साउन २०७९, ११ : ०२
इन्टर मियामीमाथि बार्सिलोनाको आधादर्जन गोल

एजेन्सी । बार्सिलोनाले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ । अमेरिका भ्रमणमा रहेको बार्सिलोनाले घरेलु टोली इन्टर मियामी एफसीलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई सानदार जित दिलाउनको लागि पिएरे इमेरिक औवामियाङ, राफिन्हा, अन्सु फाती, पाब्लो गाभी, मेम्फिस डिपाए र औसमाने डेम्वेलेले १–१ गोल गरे । बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान तीन गोल गर्न सफल भयो ।

१९औं मिनेटमा औवामियाङको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । २५औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ४१औं मिनेटमा अन्सु फातीले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३–० ले अघि बढ्यो ।

५५औं मिनेटमा पाब्लो गाभीले गोल गर्दै बार्सिलोनालाई ४–० ले अघि बढाए । ६९औं मिनेटमा मेम्फिस डिपाएले गोल गरेपछि बार्सिलोना ५–० को अग्रता लियो । त्यसको एक मिनेटपछि नै औसमाने डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई फराकिलो जित दिलाए ।