काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले जनतालाई पायकपर्ने स्थानमै स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित सबै पक्षले ध्यान केन्द्रित गर्नुपर्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले रोगहरुको उपचार गर्न ठूला सहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गरी जनतालाई सहज हुने स्थानमा स्वास्थ्य सेवाको आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबै पक्ष लाग्नुपर्ने बताएकी हुन् ।
आइतबार काठमाडौंमा आयोजित चिकित्सा शाष्त्र अध्ययन संस्थानको स्वर्ण जयन्ती समारोहमा बोल्दै उनले मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई जनताको आकांक्षा अनुसार व्यवस्था गर्न स्वदेशमा मेडिकल शिक्षाको प्रवद्र्धन गर्न अतिआवश्यक रहेको पनि बताइन् । नेपालको संविधानले स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउने कुरालाई मौलिक हकको रुपमै व्यवस्था गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सोही अनुसारको सेवा दिनका लागि राज्यले आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गरी भौतिक एवम् संस्थागत पूर्वाधारको व्यवस्था गर्न ढिलाई गर्न नहुने स्पष्ट पारेकी छन् ।
उनले चिकित्सा शाष्त्र अध्ययन संस्थानले स्वास्थ्य सेवाका लागि आवश्यक जनशक्ति निर्माणमा निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘नेपालको संविधानले सम्पूर्ण नागरिकहरुका लागि स्वास्थ्य सेवामा पहुँचलाई मौलिक हकको रुपमा सुनिश्चित गर्दै स्तरीय स्वास्थ्य सेवा सहज रुपमा सबैले प्राप्त गर्ने अधिकारको प्रत्याभूति गरेको छ । यस संवैधानिक प्रावधानलाई मूर्तरुप प्रदान गर्न स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आवधिक प्रक्षेपणको आधारमा विशेषज्ञ डाक्टर, नर्सलगायतका स्वास्थ्य प्राविधिकहरुको उत्पादनका लागि राज्यद्धारा आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गर्दै भौतिक एवम् संस्थागत पूर्वाधारको व्यवस्था गरिनु पर्दछ । जनताको आकांक्षा बमोजिम स्वास्थ्य शिक्षा तथा सेवामा सबैको पहुँच स्थापित गर्न स्वदेशमै भएका मेडिकल शिक्षाको प्रवद्र्धन गरी स्वावलम्बि तथा आत्मनिर्भर स्वास्थ्य प्रणालीको विकास गर्नु अति आवश्यक छ ।’
उनले थप भनेकी छन्, ‘स्वास्थ्य शिक्षा तथा सेवाको क्षेत्रमा राज्यको एक अग्रणी संस्थाको रुपमा यस संस्थानले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्ति विकासका लागि निरन्तर नेतृत्वदायी भूमिका निभाउने मैले अपेक्षा गरेको छु । विशिष्टिकृत स्वास्थ्य सेवाका लागि संस्थानको प्रयास, तयारी र योजनाको म प्रशंशा गर्न चाहन्छु । र, यसमा सबैको सहयोग अपेक्षित छ । मुलुकमा मेडिकल शिक्षाको विस्तारको बारेमा चर्चा गर्दा हामीले सबै प्रदेश, भूगोल र क्षेत्रमा शिक्षा र सेवाको अवसरलाई विकेन्द्रिकृत गर्नु अति आवश्यक छ । रोगहरुको उपचार गर्न ठूला सहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गरी जनतालाई पायक पर्ने स्थानमै आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज बनाउन हाम्रो ध्यान केन्द्रित हुनुपर्दछ ।’
सो अवसरमा राष्ट्रपति भण्डारीले विशिष्टिकृत स्वास्थ्य सेवाका लागि चिकित्सा शिक्षा अध्ययन संस्थानको प्रयास, तयारी र योजनाको खुलेर प्रशंशा समेत गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०१ साउन २०७९, १६ : १५
लेखकबाट थप