काठमाडाैँ । नेकपा माओवादी केन्द्रकी सांसद विना पोखरेलले दलित समुदायमाथि हुने अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको बताएकी छन्।
मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले देशमा ठुलो राजनीतिक परिवर्तन भए पनि दलित समुदायमाथि हुने अपमान र अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको बताएकी हुन्।उनले अझै पनि दलित समुदायलाई अपमान गर्ने संस्कार समाजमा रहेको भन्दै त्यस्तो संस्कारगत चेतनालाई बदल्न राज्यले प्रभावकारी अभियान चलाउनुपर्नेमा जाेड दिइन्।
सांसद पाेखरेलले भनिन्, ‘दलित समुदायमाथिको अपमान र अमानवीय व्यवहार अझै अन्त्य हुन सकेको छैन। त्यसैले हाम्रो समाजको संस्कारगत चेतनालाई बदल्न अत्यन्तै सशक्त र प्रभावकारी अभियान चलाइनुपर्दछ। जसको पहल स्वयम् राज्यले लिनुपर्दछ। निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाइनुपर्दछ। र, दलितको प्रतिस्पर्धा दलितसँग मात्र हुने व्यवस्था गरिनुपर्दछ। दलितको नाममा साहु, महाजनको होइन, दलितभित्रकै निम्न वर्गको प्रतिनिधित्वमा जोड दिइनुपर्दछ। दलित समुदायमाथिको दुर्व्यवहार र अपमानलाई दण्डनीय अपराध मानिनु पर्दछ। र, सोहीअनुरूप कानुन बनाई लागू गरिनु पर्दछ।’
उनले विद्यालयका पाठ्यक्रमहरूले पनि रुढिवादी र अन्धविश्वास कुराहरू सिकाइरहेको भन्दै पाठ्यक्रमहरू दलित समुदायमैत्री हुनुपर्ने पनि बताइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, १५ : ३६
लेखकबाट थप