चिनियाँ नेता लिउले प्रचण्डसँग भने- 'नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौँ'

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, १९ : १७
चिनियाँ नेता लिउले प्रचण्डसँग भने- 'नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौँ'

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूमिमा चीन विरोधी गतिविधि गर्न नदिने बचन दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओलेसँगको भेटमा प्रचण्डले नेपाल सरकार आफ्नो पार्टी एक चीन नीतिप्रति प्रतिवद्ध भएको बताए । चीन सरकारले नेपाल सरकारलाई विगतदेखि सहयोग गर्दै आएकोमा थप सहयोग गर्नुपर्ने धारणा प्रचण्डले राखेको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।

'नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ । चीनलाई एउटा असर छिमेकीको रुपमा स्वीकार गर्ने कुरामा एकै ठाउँमा रहेको धारणा राख्नुभयो । नेपालको विकासको प्रक्रियामा चीनले जुन किसिमले सहयोग गर्दै आएको छ । त्यसप्रति धन्यवाद व्यक्त गर्नुभयो’ बैठकपछि नेता श्रेष्ठले भने, ‘कतिपय चीनले सहयोग गर्नुपर्ने विषयमा ठोस् रुपमा चीन सरकार चिनियाँ कम्युनिस्ट पार्टीको ध्यानाकर्षण गराउनुभयो । चीनमा विशेषगरी चिकित्साशास्त्र क्षेत्रका विद्यार्थीहरुको केही समस्या रहेको त्यसको समाधान गर्नेबारेमा, चीन र  नेपालको व्यापारघाटा कम गर्ने चीनको सहयोग गर्ने अपेक्षाका विषयमा छलफल भयो ।’ अरनिको राजमार्ग र केरुङ नाका व्यापार गर्न सहजीकरण गर्नको निम्ती समेत प्रचण्डले अनुरोध गरेको श्रेष्ठले बताए ।

‘नेपालले जहिलै पनि चीनलाई असल मित्रको रुपमा स्वीकार गर्दै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै राम्रो सम्बन्ध विकास गर्न चाहन्छ’ प्रचण्डको भनाइ उदृत गर्दै श्रेष्ठले भने, ‘नेपालको भूमि भएर चीन विरोधी कुनै गतिविधि नदिने कुरामा सिंगो नेपाल सरकार पार्टी प्रतिवद्ध भएको विचार व्यक्त गर्नुभयो।’

चिनियाँ अन्तराष्ट्रिय विभागका नेताले समेत माओवादी केन्द्रसहित सबै राजनीतिक पार्टीहरू  र  नेपाल सरकार समेत एक चीन नीति प्रतिवद्धता भएको पाएकोमा समेत खुसी व्यक्त गरेका छन् ।  नेपालको विकास प्रक्रियामा आगामी दिनमा पनि सधैं सहयोग गर्ने प्रगतिवद्धता व्यक्त लिउले गरेका छन् । वीरआई सम्झौताका विषयमा नेपालले योजनाहरु ठोस रुपमा छनोट गरेमा अगाडि बढाउने विषयमा सहयोग गर्ने बचन दिएका छन् । ‘नेपाल र नेपालका कुनैपनि पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीनको नीति र चिनियाँ कम्युनिस्ट पार्टीको नीति रहेको विचार व्यक्त गर्नुभयो’ लिउले भने, ‘कम्युनिस्ट पार्टीहरू एक भएर देशको राष्ट्रियता सार्वभौम सत्ताको रक्षा गरोस भन्नेमा सधै खुसी हुन्छौ । नेपालका राजनीतिक दलहरुले आफ्नो फैसला आफै गर्ने क्षमताको विकास होस भन्ने छ ।’  चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको चाहना आफ्नो निर्णय आफै गर्न सक्ने क्षमताको विकास हुनुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस