अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो

पोल्ट्री एक्स्पो ज्ञान, सीप र प्रविधिको प्रयोगमा सहयोगी बन्ने मेयरको विश्वास

शुक्रबार, १७ कार्तिक २०७४, २० : १४
पोल्ट्री एक्स्पो ज्ञान, सीप र प्रविधिको प्रयोगमा सहयोगी बन्ने मेयरको विश्वास

 
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो ज्ञान, सीप र नवीनतम प्रविधिको प्रयोगमा सहयोगी बन्ने विश्वास व्यक्त गरेकी छिन् ।


नेपाल पोल्ट्री महासंघ लगायतका संघसंस्थाले आयोजना गरेको अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले भनिन्, भरतपुरमा अन्तर्राष्ट्रियस्तरको पोल्ट्री एक्स्पोको आयोजना हुनु राम्रो काम भएको छ । एक्स्पोको आयोजना भरतपुरमा रहेको चितवन प्रदर्शनी केन्द्रमा हुनु भरतपुर महानगरपालिकाको लागि खुसी र गौरवको विषय हो । यो एक्स्पो ज्ञान, सीप र नवीनतम प्रविधि आदानप्रदान गर्न र प्रयोगमा सहयोगी बन्नेछ भन्ने मैले विश्वास लिएकी छु ।


उनले आत्मनिर्भर बन्दै गरेको पोल्ट्री क्षेत्रको विकासका लागि भरतपुर महानगरपालिकाले लिनुपर्ने दायित्व र खेल्नुपर्ने भूमिका निर्वाह गर्दै सहयोग गर्ने वचनवद्धता प्रकट गरिन् । महानगर प्रमुख दाहालले पोल्ट्री क्षेत्रमा भएको आधाभन्दा बढी लगानी चितवन जिल्लामा भएको र जिल्लाभित्र पनि भरतपुर महानगर क्षेत्रमा पोल्ट्री क्षेत्रको धेरैजसो लगानी रहेको बताइन् । उनले पोल्ट्री क्षेत्रको विकासले आर्थिक समृद्धिको लागि सहयोग पुग्ने समेत बताइन् ।


पोल्ट्री क्षेत्र आत्मनिर्भर उद्योगको रुपमा फस्टाएर गइरहेको बताउँदै मेयर दाहालले पोल्ट्रीमा देशको आधा हिस्सा चितवनले ओगटेको बताइन् । पोल्ट्रीको विकासका लागि निजी क्षेत्रबाट भएका प्रयासको प्रशंसा गर्दै उनले अबका दिनमा भरतपुर महानगरपालिकाले पनि स्थानीय सरकारका रुपमा पोल्ट्री क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने बताइन् । भरतपुर महानगर प्रमुख दाहालले एक्स्पोको सफलताको कामना समेत गरिन् ।


उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार भरतपुरमा उद्घाटन गरेको अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो तीन दिनसम्म चल्नेछ । नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पोको अवसरमा प्रकाशित स्मारिका विमोचन समेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस