चिनियाँ नेता लिउ उच्चस्तरीय भेटमा व्यस्त

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, ०८ : ४०
चिनियाँ नेता लिउ उच्चस्तरीय भेटमा व्यस्त

काठमाडौं । तीनदिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जिन्चाओले नेपाल आएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेटेका हुन्। भेटमा परस्पर चासोका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  

चिनियाँ नेता लिउले आइतबार नै परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गरे। परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुईपक्षीय सम्बन्ध थप विस्तारका विषयमा विचार आदानप्रदान भएको छ।  

लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गर्ने कार्यक्रम छ। गत मेमा सिपिसीको अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी समालेका उनले जुन अन्तिम साता नेपाली नेताहरू ओली र दाहालसँग भिडियो कन्फरेन्सको माध्यमबाट कुराकानी गरेका थिए। केही दिनअघि उनले परराष्ट्रमन्त्री खड्कासँग पनि भिडियो कम्फरेन्समार्फत कुराकानी गरेका थिए।  

सिपिसीको अन्तर्राष्ट्रिय विभाग प्रमुख भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो। नेपालमा पछिल्लो समय अमेरिकी चासो र अधिकारीहरूको भ्रमण बढिरहेका बेला चीनले उच्च अधिकारीलाई नेपाल पठाएको हो।  

लिउको नेपाल भ्रमणको एउटा उद्देश्य नेपालमा विभाजित अवस्थामा रहेका ठूला कम्युनिस्ट पार्टीलाई संघीय प्रतिनिधिसभाको निर्वाचनभन्दा पहिले नै एकताबद्ध हुने वातावरण सिर्जना गर्नु रहेको बताइएको छ। नेपालमा राजतन्त्र अन्त्यसँगै भरपर्दो राजनीतिक शक्तिको खोजीमा रहेको चीनले कम्युनिस्टहरू सत्तामा हुँदा तुलनात्मक रूपमा सहज हुने भएकाले बलियो कम्युनिस्ट पार्टी निर्माण गर्न चाहेको हो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवादसँगै सरकार ढलेपछि बनेको वाम–लोकतान्त्रिक सरकार आफूअनुकूल नभएको ठानेको चीन पुनः वाम एकता चाहन्छ।  

प्रतिक्रिया दिनुहोस