जेलेन्स्कीको दाबी– रुसीहरू युरोपमा आक्रमण गर्न खोज्दैछन्

एजेन्सी

बुधबार, २२ असार २०७९, १२ : ११
जेलेन्स्कीको दाबी– रुसीहरू युरोपमा आक्रमण गर्न खोज्दैछन्

काठमाडौं। रुसले युक्रेनलाई शुरूआती विन्दु मानेर युरोपका अन्य देशमाथि पनि आक्रमण गर्न खोजेको युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले दाबी गरेका छन् ।युक्रेन अमेरिकी नेतृत्वको सैन्य संगठन नेटोमा नजोडिँदा पनि सुरक्षा प्रत्याभूति दिलाउन पश्चिमलाई उनले आग्रह गरेका छन् । 

‘हामीलाई सुरक्षा प्रत्याभूतिको एक प्रणाली आवश्यक छ,’ उनले बताए, ‘हामी गठबन्धनको अंग नहुँदा पनि यो प्रत्याभूति प्रभावकारी हुन जरूरी छ ।’‘रुसले हाम्रो भूमिमा पाइला टेकेर अन्य युरोपेली राज्यहरूलाई पनि कब्जामा लिन खोजेको छ । त्यसैले युक्रेनको सुरक्षा सुनिश्चित गर्दा सम्पूर्ण युरोपको दीर्घकालीन सुरक्षा उपलब्ध हुन्छ ।’

युरोपेली सुरक्षामा रहेका ग्रे जोनहरूका कारण रुसले युक्रेनमा सेना पठाउन सकेको तर्क उनले गरे । यसअघि सन् १९९४ मा युक्रेनले बुडापेस्ट स्मरणपत्र अन्तर्गत दिएको प्रत्याभूति तथा अन्य सुनिश्चितताहरू ध्वस्त भएको जेलेन्स्कीले सम्झिए । 

जेलेन्स्कीको भनाइ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकै जस्तो तर विपरीत ध्रुवको छ । युक्रेनको भूमि प्रयोग गरेर रुसको सुरक्षालाई जोखिममा पार्न नेटोले कोशिश गरेकाले रुसले सैन्य कारवाही चलाउन परेको पुटिनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस