रुसले युक्रेनको लुहांस्क क्षेत्र लियो कब्जामा

एजेन्सी

मंगलबार, २१ असार २०७९, ११ : १४
रुसले युक्रेनको लुहांस्क क्षेत्र लियो कब्जामा

किभ । रुसले युक्रेनको एक महत्वपूर्ण शहर नियन्त्रणमा लिएको छ । भिषण संघर्षपछि युक्रेनको पूर्वी शहर लिसिचांस्कमा रुसले नियन्त्रण कायम गरेको हो । योसँगै पूरै लुहांस्क क्षेत्र नियन्त्रणमा लिन रुस सफल भएको छ । लिसिचांस्क शहर रुसी सेनाको नियन्त्रणमा रहेको युक्रेनको सेनाले पनि पुष्टि गरेको छ । युक्रेनी सेनाका जनरल स्टाफले भनेका छन्, ‘लिसिचांस्कका लागि भिषण युद्धपछि युक्रेनका रक्षा बल पछि हट्न बाध्य भएका छन् ।’

उनले भनेका छन्, ‘रुससँग अत्याधुनिक गोलाबारुद, विमान, मानव संसाधन र अन्य बल थियो, युक्रेनी सेनालाई ज्यान जोगाउनका लागि पछि हट्न भनिएको छ ।’ यसअघि रुसका रक्षामन्त्री सर्गेइ शोइगुले पनि लिसिचांस्क शहर कब्जा गरेको बताएका थिए । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भने अहिले पछि हटे पनि युक्रेनी सेना लिसिचांस्क शहरमा फर्किने दाबी गरेका छन् । उनले डटेर रुसी सेनाविरुद्ध लडेको भन्दै आफ्ना सैनिकलाई धन्यवाद पनि दिएका छन् ।

यसअघि रुसको चेचेन्या गणराज्यका प्रमुख रमजान कादिरोभले सार्वजनिक गरेको एक भिडियोमा चेचेन लडाकु लिसिचांस्कको मध्यमा देखिन्छन् । उनीहरु पश्चिमतर्फ अघि बढिरहेका छन् । युक्रेनको नियन्त्रणमा रहेको स्लोभियांस्क शहरमा संघर्ष जारी छ । सोमबारसम्म त्यहाँ ६ जनाको मृत्यु भएको थियो । लिसिचांस्क दोनेत्स्क क्षेत्रमा पर्दछ ।

दोनेत्सक र लुहांस्क मिलेर बनेको औद्योगिक डोनबास क्षेत्र बनेको छ । लुहांस्क क्षेत्र रुसको नियन्त्रणमा रहे पनि दोनेत्स्का दुई ठूला शहर स्लोवियांस्क र क्रेमातोरस्कमा युक्रेनको नियन्त्रण कायम छ । एक साता अगाडि रुसी सैनिकले सेवेरोदोनोत्स्कमा कब्जा जमाएका थिए । यो शहर रुसी बमबारीबाट पूर्णरूपमा ध्वस्त भएको छ ।