चितवनबाट सवारी ‘लाइसेन्स’ दिने प्रक्रिया शुरु, साउन दोस्रो सातादेखि भरतपुरमै ट्रायल हुने

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १० : ०६
चितवनबाट सवारी ‘लाइसेन्स’ दिने प्रक्रिया शुरु, साउन दोस्रो सातादेखि भरतपुरमै ट्रायल हुने

चितवन । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब चितवनबाटै लिन सकिने भएको छ ।  यातायात व्यवस्था सेवा कार्यालय चितवनले लाईसेन्स वितरणको सम्पुर्ण तयारी गरेपछि साउनको दोश्रो सातादेखि प्रयोगात्मक परिक्षा समेत भरतपुरमै हुने भएको छ ।

यसअघि कार्यालयले असार अन्तिम सातादेखि नै ट्रायल लिने बताउदैं आएको थियो । तर वाग्मती प्रदेशका मुख्यमन्त्रीको कार्यालयको निर्देशनमा ट्रायल सेन्टरको विषयलाई लिएर यो प्रक्रिया स्थगित भएको थियो ।  ‘आर्थिक प्रस्तावको सूचना स्थगित भएपछि मुख्यमन्त्रीको कार्यालयले छानबिन ग¥यो । कानुनबमोजिम प्रक्रिया पुनः अघि बढाउनू भन्ने पत्र आएपछि हामीले प्रक्रिया अघि बढाउन लागेका हौँ’, यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलले भने ।

चितवनमा ट्रायल सेन्टर उपलब्ध गराउने भनी छवटा ट्रायल सेन्टरले प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गरेका थिए । प्राविधिक प्रस्तावको मूल्याङ्कनमा महालक्ष्मी ट्रायल सेन्टर र सदगुरू ड्राइभिङ छनोटमा परेका छन् ।  यातायात व्यवस्था सेवा कार्यालयले अब असार २३ गते आर्थिक प्रस्ताव खोल्ने र मूल्याङ्कन गरिने जनाएको छ । थोरै शुल्क लिएर ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेश गर्ने एउटा ट्रायल सेन्टर आर्थिक मूल्याङ्कनमा छनोटमा पर्ने प्रमुख पौडेलले बताए । 

‘आर्थिक मूल्याङ्कनमा छनोटमा परेको ट्रायल सेन्टरलाई सम्झौता गर्न आउने भनी १५ दिनको सूचना निकाल्छौँ । त्यसबीचमा कोटा र सिस्टम खोलिदिनका लागि यातायात विभागमा र जनशक्ति उपलब्ध गराइदिन भनी प्रदेश सरकारसमक्ष आग्रह गर्छौं’, उनले भने । ट्रायल लिन कार्यालयलाई कम्तीमा तीनदेखि पाँच जनासम्म कर्मचारी चाहिने उनले बताए । ट्रायल सेवा सुरू गर्न कार्यालयसँग अहिले एउटा पनि कर्मचारी छैनन् ।

चितवनबाट सुरूमा ‘क’, ‘ख’ र ‘ग’ वर्गको सवारीसाधनको ट्रायल लिइने उनले बताए । ‘क’ वर्गमा मोटरसाइकल, स्कुटर, मोपेड, ‘ख’ वर्गमा चार र तीनपाङ्ग्रे साना सवारीसाधन र ‘ग’ वर्गमा हेभी र मझौला आकारका सवारीसाधन पर्छन् ।