सबै खालका परिवर्तन संसदबाटै हुन्छ : सुवास नेम्वाङ

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १५ : ५४
सबै खालका परिवर्तन संसदबाटै हुन्छ : सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले परिवर्तनको लागि नेपालमा आन्दोलन गर्न आवश्यक नरहेको बताएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै उपाध्यक्ष नेम्वाङले परिवर्तन चाहनेले जनताको मन जितेर संसदमा गए सहजै जुनसुकै परिवर्तन गर्नसक्ने बताएका हुन्।

उनले संविधान जारी भएसँगै देशको शक्तिको रुपमा जनता रहेकोले जनताले चाहेमा सबै खालका परिवर्तन संसदबाटै गर्नसक्ने बताए। उपाध्यक्ष नेम्वाङले कुनै दल र व्यक्ति मन नपरे सहजै पार्टी परिवर्तन गर्ने र खोल्ने अधिकार संविधानले दिएको उल्लेख गर्दै जनताको उन्नतिको लागि एकजुट भई अघि बढ्नुपर्ने आवश्यक रहेको बताए।

उनले भने, ‘हामीले ६ वर्षकै बीचमा सर्वसम्मतिले संविधान संशोधनलाई पारित गरेर नेपालको संविधानलाई सर्व स्वीकार्य बनाएका छौँ। अब यत्तिमात्रै जोड्छु, अब परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन। जनताको मन जित्नुस्, जनताको आशिर्वाद लिनुस्, संसदमा पुगेर संविधान संशोधनमार्फत जुनसुकै प्रकारको परिवर्तन गर्न सकिन्छ। जनता त्यति अधिकार सम्पन्न भइसके। व्यक्ति मन पर्दैन, व्यक्ति परिवर्तन गर्नुहोस्, पार्टी मन पर्दैन पार्टी नयाँ बनाउनुस्, अब परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन । जनतालाई सुख दिनको लागि, जनताको उन्नतिको लागि एकजुट भइ अघि बढ्नुपर्ने आवश्यक छ । हाम्रा सबै कुरा संविधानअनुसार चल्नुपर्छ । २० गतेको सांसदमा ल क्याम्पसबारे कुरा उठ्छ ।’

उपाध्यक्ष नेम्वाङले देश र राजनीतिक दलपनि संविधान अनुसार नै चल्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस