मन्त्री पद र पैसाको लोभ छैन, अहिले पनि ठूलो गाडी चढेर आएको छु : किसान श्रेष्ठ

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, ११ : १३
मन्त्री पद र पैसाको लोभ छैन, अहिले पनि ठूलो गाडी चढेर आएको छु : किसान श्रेष्ठ

काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले मन्त्री पदमा बसेर पैसा कमाउन पर्ने कुनै लोभ आफूमा नभएको बताएका छन्। 

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि आज एक पत्रकार सम्मेलन गर्दै श्रेष्ठले यस्तो बताएका हुन्।मन्त्री पद छाड्न नसकेर कहिले बालुवाटार कहिले खुमलटार धाएको भनेर आफूहरुलाई आक्षेप लगाएको भन्दै उनले आपत्ति जनाए। 

‘कुर्सीमा टाँसिरहनका लागि कहिले बालुवाटार कहिले खुमलटार भनेर पनि हामीलाई आक्षेपहरु आइरहेको छ,’ उनले भने, ‘नचाहिने हल्ला चलाइएको छ। खाली हामी मन्त्रीहरुको भनाई के हो भने, लोकतान्त्रिक पद्धतिमा बजेट पेश गरिसकेपछि माननीयहरुले सोधेको प्रश्नको जवाफ दिन पाउँ भन्ने हो।’

उनले आफू अहिलेपनि मन्त्री हुने बेलाको भन्दा ठूलो गाडी चढेर हिँडेको दाबी गरे। ‘हामीले मन्त्री पद छाड्न खोजेको भन्ने केही पनि होइन। अहिले मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर म आएको छु। मन्त्री भएर पैसा कमाउन वा अन्य केही मेरो लोभ लालच छैन्।’ उनले भने।

प्रतिक्रिया दिनुहोस