मन्त्रीमण्डल हेरफेर नभए प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्छौं : झलनाथ खनाल

सफल खबर संवाददाता

आइतबार, १२ असार २०७९, १९ : ०८
मन्त्रीमण्डल हेरफेर नभए प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्छौं : झलनाथ खनाल

काठमाडौं। पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नयाँ मन्त्रीको शपथ आज नभए प्रधानमन्त्रीविरुद्धमा गम्भीर कदम चाल्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बौल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीमण्डल हेरफेर गर्नुपर्ने र पार्टीका केन्द्रीय, पोलिटब्यूरो र सचिवालय बैठकले गरेको निर्णयलाई अस्वीकार गरे गम्भीर कदम चाल्ने चेतावनी दिए । सम्मानित नेता खनालले आफूसँग अब पनि मन्त्रीमण्डल हेरफेर नगरेमा प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्नु बाहेकको विकल्प नभएको बताए ।

उनले भने, ‘नयाँ मन्त्रीले सकेसम्म आज शपथ खानुपर्छ । प्रधानमन्त्रीले आज कदम चाल्नुपर्छ । आजपनि कदम चाल्नु भएन, ढिला भयोभने प्रधानमन्त्रीको बारेमा पनि हामीले के गर्नुपर्ने भन्ने सोच्नुपर्छ । त्यसकारण सचिवालयले निर्णय गरेको छ, स्थायी कमिटीले निर्णय गरेको छ ।’

उनले फेरि भने, ‘पोलिटब्यूरोले निर्णय गरेको छ, केन्द्रीय कमिटीले निर्णय गरेको छ, यी सबै कुरालाई अस्वीकार गर्ने हो भने हामीले थप गम्भीर कदम चाल्नु बाहेक अर्को विकल्प छैन । हामीले निर्णय गरिसकेका छौँ । एकैपटक कार्यान्वयन हुन्छ, कार्यान्वयन जसले गर्नुहुन्छ, धन्यवाद दिन्छौँ, कार्यान्वयन नगर्नेलाई पार्टीले विधान बमोजिम काराही गर्छ ।’

फरक प्रसंगमा सम्मानित नेता खनालले मुख्यमन्त्री फेरबदलको कुरा शुरुवाती सम्झौता बमोजिम हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस