काठमाडौं । नेपाल–भारत रामायण सर्किटबाट ‘भारत गौरव एसी पर्यटक ट्रेन’ बिहीबार जनकपुरधाम आइपुगेको छ। मंगलबार साँझ ७ बजेतिर भारतबाट छुटेको रेल बिहीबार दिउँसो पौने २ बजेतिर जनकपुरधामको रेल्वे स्टेसनमा आइपुगेको हो। सो रेलमा सवार करिब ६ सय भारतीय पर्यटकलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, जानकी मन्दिरका महन्त रामरोशन दासलगायतले गम्छा, फूलमालाले स्वागत गरे।
मंगलबार भारतका रेलमन्त्री र पर्यटनमन्त्रीले संयुक्त रूपमा नयाँ दिल्ली रेल्वे स्टेसनमा हरियो झन्डा देखाएर उद्घाटन गरेपछि रेल जनकपुरधामका लागि प्रस्थान गरेको थियो। रेल दिल्लीबाट अयोध्या आएको थियो। सो रेलले एक दिन अयोध्यामा विश्राम लिएको थियो। जनकपुरको रेल्वे स्टेसन आइपुगेपछि यात्रीहरू जनकपुरधामका होटेलहरूमा पुगेका थिए।
केहीबेरको आरामपछि उनीहरू गंगासागर पोखरीमा हुने दैनिक महागंगा आरतीमा सहभागी भए। त्यहाँबाट उनीहरू जानकी मन्दिर पुगे। उनीहरूलाई लक्षित गरी जानकी मन्दिरको प्रांगणमा साँझ मिथिला कलासंस्कृति झल्किने गरी रात्रि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। सो कार्यक्रमको अवलोकन गरेर उनीहरू बासस्थान फर्केका थिए।
शुक्रबार बिहान जनकपुरका विभिन्न मठमन्दिर दर्शन गरेपछि ती भारतीय पर्यटक धनुषाधाम मन्दिर पुग्ने कार्यक्रम छ। धनुषाधामबाट फर्केपछि तीर्थयात्रीहरू भिठामोड हुँदै सीतामढी पुग्नेछन्। दिल्लीबाट भ्रमणमा निस्केका यात्रुहरूको यो भ्रमण नेपाल र भारतमा गरी १८ दिनको हुनेछ।
भोजन र बासस्थानको सुविधाका लागि प्रत्येक यात्रुले ६२ हजार ३ सय ७० भारतीय रूपैयाँ तिर्नुपरेको भारतीय रेल्वे कम्पनीका एक अधिकारीले बताए। उनका अनुसार भारत गौरव एसी पर्यटक ट्रेन’मा जुनसुकै देशका यात्रुले भ्रमणका लागि यात्रा गर्न सक्नेछन्। भारतीय पर्यटकहरू शुक्रबार नै जनकपुरबाट फर्किने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असार २०७९, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरको पहिलो जित, चितवन पराजित
सुदूरपश्चिमविरुद्ध जनकपुरको पहिले ब्याटिङ गर्दै
एनपीएल : विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार
एनपीएल: जनकपुरलाई काठमाण्डुले हरायो
एनपीएल उद्घाटन खेलमा जनकपुरविरुद्ध टस जितेर फिल्डिङमा उत्रियो काठमाडौँ
भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन