काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताएका छन्। मंगलबार प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक अधिकारीले हवाई सेवा अत्यन्तै महत्वपूर्ण सेवा भएकाले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताएका हुन्।
उनले निजी वायुसेवा सञ्चालकहरु पनि अत्यन्तै जिम्मेवार भएकाले हवाइ उडान बन्द गरिनहाल्ने विश्वास रहेको बताए। महानिर्देशक अधिकारीले हड्ताल कहाँकहाँ गर्न पाइन्छरु कहाँकहाँ गर्न पाइँदैन भन्ने सबै नेपाली नागरिक थाहा भएको भन्दै सञ्चालकहरुलाई सचेत गराए।
उनले भने, ‘मलाई लाग्दैन, व्यवसायी साथीहरुले उडान बन्द गर्नुहुन्छ। उहाँहरु अत्यन्तै जिम्मेवार हुनुहुन्छ। उहाँहरु जिम्मेवारीपूर्वक प्रस्तुत हुनुहुनेछ। यो अतिआवश्यक सेवा हो। हड्ताल कहाँकहाँ गर्न पाइन्छरु कहाँकहाँ गर्न पाइँदैन नेपाली नागरिक सबैलाई थाहा छ। गर्नुहुन्न भन्नेमा म विश्वस्त छु।’
उनले वायुसेवा सञ्चालकलाई आफूहरुले भनेको काम गर्न पाइनँ भने बन्द गर्ने धम्की नदिन आग्रह गरे। प्राधिरकणले २०५७ सालबाट अहिले एक सय रुपैयाँ सेवा शुल्क बढाउँदा बढी हुने तर हवाई भाडा २५ सयबाट १० हजार पुग्दासमेत कसैले विरोध नगरेको उनले बताए। महानिर्देशक अधिकारीले हवाईजहाज धनीले मात्रै चढ्ने भएकाले कसैको विरोध नदेखिएकोसमेत बताए।
महानिर्देशक अधिकारीले थपे, ‘सबै कुरा आफूले गर्न पाइनँ भने म बन्द गरिदिन्छु भन्ने धङ्धङी धम्की नपाल्दा हुन्छ। काठमाडौँबाट २०५७ सालमा विराटनगर गएको भाडा २५ सय रुपैयाँ थियो। आज १० हजार रहेको छ। प्राधिकरणले ०५७ सालमा २ सय रुपैयाँ लिएको थियो। अहिले ३ सय रुपैयाँ लिन्छ। क्षमता बढी भयो। वायु कम्पनीले २५ सयबाट १० हजार पुर्याउँदा कोही बोलेको छैन। जहाज चढ्ने भनेको पैसा भएका मान्छे चढ्ने रहेछन्। कसैले विरोध गरेको छैन। गाडी भाडा बढ्दा आन्दोलन हुन्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असार २०७९, २० : २९
लेखकबाट थप