२५ परियोजनका लागि विश्व बैंकको ३ अर्ब अमेरिकी डलर कार्यान्वयनमा

सफल खबर संवाददाता

आइतबार, ०५ असार २०७९, १४ : ५०
२५ परियोजनका लागि विश्व बैंकको ३ अर्ब अमेरिकी डलर कार्यान्वयनमा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ । आइतबार अर्थमन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखी रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरे । 

‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखी एउटा भरपर्दो साझेदार संस्थाको रुपमा रहिआएको छ’ भेटमा उनले भने, ‘विश्व बैंकले कोभीड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १ सय २२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।’ सो अवसरमा मन्त्री शर्माले पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीय रुपमा बढ्दै गएको बताउँदै उक्त सहयोगले नेपालको आर्थिक विकासमा सहयोग पुगिरहेको बताए ।

सन् १९६९ मा १६ करोड ९ लाख अमेरिकी डलरको वित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य शुरु भएको थियो । हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ । केही महत्वपूर्ण आयोजनाहरु सम्झौताको चरणमा रहेको र हाल सञ्चालित आयोजनाहरु निक्कै महत्वपूर्ण र दुरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताए । ‘विश्व बैंकसँगको वित्तीय सहकार्यमा संचालित आयोजनाहरु समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गर्नु हामी सबैको प्रयास रहनेछ’ मन्त्री शर्माले भने । 

सो अवसरमा आर्थिक वर्ष २०७९÷८० को बजेट मूलत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको समेत उनले बताए । ‘मैले भर्खर प्रस्तुत गरेको बजेटका माध्यमबाट अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बन्चितिकरणबाट समावेशीतातर्फ लाने गरी प्रस्थान बिन्दुको रुपमा उल्लेख गरेको छु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस