चितवनमा विकास खर्च ज्यादै न्यून, प्रदेशको ३२ प्रतिशत मात्रै खर्च

सफल खबर संवाददाता

आइतबार, ०५ असार २०७९, १० : ४६
चितवनमा विकास खर्च ज्यादै न्यून, प्रदेशको ३२ प्रतिशत मात्रै खर्च

चितवन । चितवनमा विकास खर्च गर्न मुश्किल पर्ने गरेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व गृहमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, पूर्वअर्थमन्त्री एवं एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी, राज्यमन्त्री उमेश श्रेष्ठलगायत केन्द्रीय स्तरमा पहुँच भएका नेताहरूको गृह जिल्ला हो, चितवन।

जिल्लामा हुने हरेक कार्यक्रममा भौतिक विकासको भाषण गर्न नछुटाउने नेताहरुले विकास खर्च बढाउनेतर्फ भने चुइक्क बोल्दैनन् । यस आर्थिक वर्ष २०७८र७९ मा विकास खर्चका रुपमा लिइने पुँजीगत खर्चको अवस्था ज्यादै कमजोर छ । गत आर्थिक वर्ष २०७७र७८ मा भन्दा पनि यस आवमा विकास खर्च अत्यधिक न्युन भएको छ । यस पटक पुँजीगत बजेटको झण्डै आधा बजेट फ्रिज हुने देखिन्छ ।

‘नारायणी र राप्ती नदी, राष्ट्रिय निकुञ्जलगायत पहाड र समथर भुभागसमेत भएको यो जिल्ला सिंगै राष्ट्रको लागि एउटा विकासको मोडल हुन सक्छ ’, केहि दिनअघि भएको एक कार्यक्रममा चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद समेत रहेका प्रचण्डले भनेका थिए । कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका अनुसार चालु आवको जेठ मसान्तसम्म पुँजीगतमा संघतर्फ २८.७४ प्रतिशत र प्रदेशतर्फ ३२.३४ प्रतिशत मात्रै खर्च भएको छ । चालूमा भने संघतर्फ ८७.३७ प्रतिशत र प्रदेशतर्फ ६०.३२ प्रतिशत खर्च भइसकेको छ । गत आव २०७७र७८ को यस अवधिमा पुँजीगत संघतर्फ ५.७२ प्रतिशत र प्रदेशतर्फ ४७.२९ प्रतिशत खर्च भएको थियो ।

यस आवमा चितवनका लागि संघतर्फ १० अर्ब पाँच करोड ५० लाख ६९ हजार र प्रदेशतर्फ तीन अर्ब २९ करोड ४४ लाख ४२ हजार रूपैयाँ पुँजीगत बजेट प्राप्त भएको थियो । जेठ मसान्तसम्म संघतर्फ दुई अर्ब ८८ करोड दुई लाख ४० हजार र प्रदेशतर्फ ८७ करोड ६० लाख १९ हजार रुपैयाँमात्रै पुँजीगत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक मुक्तिप्रसाद चापागाईंले बताए । जेठमा मात्रै संघको ५२ करोड ४२ लाख ७५ हजार र प्रदेशको १८ करोड ९५ लाख ८२ हजना रुपैयाँ पुँजीगत खर्च भएको छ । 

असारमा पुंजीगत खर्च बढेर कुल बजेटको ५० प्रतिशत आसपास पुग्ने कोलेनिकाको अनुमान छ । नेपालमा हरेक वर्ष आर्थिक वर्षको अन्तिममा बर्खाको समयमा विकासले गति लिने गर्छ । असारे विकासको गुणस्तरीयतामा भने प्रश्न चिह्न खडा हुँदै आएको छ । ‘असारमा एक दिनमै करोडौँ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने हुन्छ’, चापागाईं भन्छन्, ‘यो महिनामा पुँजीगत खर्चमा अल्लि धेरै प्रगति देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस