एसपिपीमा निष्ठावान नेता सुशील काेइरालालाई मुछ्ने काम भयाे : प्रकाश पन्थ

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, १२ : ३८
एसपिपीमा निष्ठावान नेता सुशील काेइरालालाई मुछ्ने काम भयाे : प्रकाश पन्थ

 सत्तारूढ नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद प्रकाश पन्थले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) प्रस्ताव गर्ने काममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई मुछ्ने काम गरिएको भन्दै खेद व्यक्त गरेका छन्।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्थले कोइराला प्रधानमन्त्री भएको बेला हुँदै नभएको सो प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मुछ्ने काम गरेको भन्दै खेद व्यक्त गर्न गरेका हुन्।कोइरालाजस्तो निष्ठावान नेतालाई सो प्रस्तावमा मुछेर नेकपा एमालेले जनतालाई भ्रमित पार्ने कोसिस गरिरहेको उनको दावी थियो।

सांसद पन्थले भने, ‘हाम्रा निष्ठावान नेता सुशील कोइरालालाई पनि त्यहाँ मुछ्ने काम भयो। जसको पालामा त्यो भएकै थिएन। त्यो एसपिपी भन्ने सम्झौताको पत्राचार गर्ने कुरा सुशील कोइराला प्रधानमन्त्री भएको बेला भएकै थिएन। तर उहाँको नाम लिएर जनतालाई भ्रमित गर्ने कोसिसहरू भयो। म त्यसप्रति खेद प्रकट गर्न चाहन्छु। परराष्ट्र मामिलामा हामीले धेरैथरी प्रवृत्तिहरू देख्यौँ। एउटा हतियार हुन्छ, उल्टोबाट पनि काटने, सुल्टोबाट पनि काट्ने। एउटै मान्छे धामी पनि हुन्छ, बोक्सी पनि हुन्छ। परराष्ट्र मामिलाका कुराहरूमा, कूटनीतिक मामिलामा हामीले धैर्यता राख्नुपर्ने त्यो पनि भएन। ती कुराहरूलाई हामीले ख्यालै नगरिकन अपराध आफैँले गर्ने अनि अर्कोलाई चाँहि पोल्ने के?’

उनले एमालेले सो प्रस्तावको विषयमा प्रतिक्रिया दिँदासमेत कूटनीतिक मर्यादा कायम राख्न नसकेको भन्दै आपत्ति पनि जनाए।

प्रतिक्रिया दिनुहोस