एमाले सांसद रावल र मन्त्री खड्काबीच चर्काचर्की

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, ११ : ४७
एमाले सांसद रावल र मन्त्री खड्काबीच चर्काचर्की

काठमाडौं । नेकपा एमाले सांसद भीम रावलले एसपीपी र अमेरिकी रक्षा मन्त्रालयबाट इण्डो प्यासिफिक रिपोर्ट २०१९ प्रकाशित दस्तावेजबारे छानबिन समिति गठन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले अमेरिकी दूतावासले चाहेमा एसपीपीबाट अलग हुनसक्ने कुरा आएकाले एसपीपीजस्तो सामरिक महत्वको विषयमा सहभागी हुन नेपाल चाहँदैन भनेर पत्र लेख्न सरकारसँग आग्रह गरेका छन् ।

उनले सेनाले एसपीपीमा सहभागिताबारे स्पष्ट धारणा राखेकोमा धन्यवाद दिँदै भने, “तर, सेनाले एसपीपीबारे दुईपटक फरक–फरक धारणा राख्नु ठिक होइन । दुईदिन अघि कुनै सम्झौता भएको छैन भन्ने दुई दिनपछि विपद व्यवस्थापनका लागि सहयोग मागेको भन्नेजस्ता अमुक बहाना सेना जस्तो गरिमामय संस्थाले गर्नु हुँदैन ।” 

उनले मुलुक सैन्य रणनीतिमा जाने भन्ने विषय हल्का नभएको भन्दै परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कटाक्ष गरेका छन् । समितिमा रावल र खड्काबीच चर्काचर्कीसमेत भएको थियो ।रावलले खड्कालाई एसपीपी नेपालको हितमा रहेको सार्वजनिक टिप्पणी गरेको आरोप लगाएका थिए । मन्त्री खड्काले नभएका झुटा कुरा नगर्न रावललाई सुझाव दिए । जवाफमा रावलले उनले बोलेको कुरा अडियो नै ल्याएर सुनाउने दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस