प्रधानसेनापतिलाई प्रदीप ज्ञवालीको प्रश्न– कसले पत्र लेखेको हो, संसद्लाई यथार्थ जानकारी गराउनुहोला

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, ११ : ०३
प्रधानसेनापतिलाई प्रदीप ज्ञवालीको प्रश्न– कसले पत्र लेखेको हो, संसद्लाई यथार्थ जानकारी गराउनुहोला

काठमाडौँ । नेकपा एमालेका सांसद प्रदीप  ज्ञवालीले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी)मा सहभागी हुन नसकिने टिप्पणी गरेका छन्।संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारकव छलफलमा भाग लिँदै उनले यो सम्झौता नेपालको हितमा नभएकाले अस्वीकार गरेर जानुपर्ने बताए। उनले नेपालको भूमि कसैको पनि हितमा प्रयोग हुन दिने र सैन्य गठबन्धनमा सहभागी हुने नेपालको परराष्ट्र नीति नभएको बताएका छन्। 

उनले यो सम्झौता अहिले नभई विगतमै भएको भनी सार्वजनिक भएकाले  सरकारले एसपीपी कार्यक्रममा सहभागी हुने भनी पत्र लेखेको हो जानकारी गराउन माग गरे। बैठकमा उपस्थित नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले संसद्लाई पत्रको यथार्थताबारे जानकारी गराउन आग्रह गरे। 

‘यो सम्झौता कुन सरकारको समयमा लेखिएको हो र कसले लेखेको हो?’, उनले भने, ‘सम्मानित सदनलाई तपाईंले यथार्थ जानकारी गराउन जरुरी देखिएको छ।’ 

उनले यस्तो कार्यक्रममा सहभागी हुने कुरा संविधान विपरीत र नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत हुने नेपाली सेनालाई पनि जानकारीमै रहेको हुनुपर्ने बताए। बिहीबार प्रतिनिधि सभा बैठकमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेसको पालामा एसपीपीमा सहभागिताका लागि स्वीकृति दिइएको आरोप लगाएका थिए। त्यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेको समयमा भएको आरोप लगाएका थिए। आरोप– प्रत्यारोपकैबीच बिहीबार दिउँसो २०७२ कात्तिक १० मा तत्कालीन तत्कालीन सेनापति राजेन्द्र क्षत्रीले लेखेको पत्र सार्वजनिक भएको थियो।
 

प्रतिक्रिया दिनुहोस