काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि ताप्लेजुङ जिल्ला सिरीजंघा गाँउपालिका-७ खेवाङमा बिहीबार राति गएको पहिरोमा परेर घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा पुगेको छ।
मन्त्री खाणले गृह प्रशासन, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, सशस्त्र प्रहरी बलका प्रदेश १ का प्रमुख सशस्त्र नायब महानिरीक्षक कमल गिरी, नेपाल प्रहरीका प्रदेश १ का निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नविनराज राई, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईलाई टेलिफोन गरेर घाइतेहरूको यथाशीघ्र उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका हुन्।उनको निर्देशनपछि हेलिकोप्टर घटनास्थलमा पुगिसकेको ताप्लेजुङका प्रजिअ पोखरेलले जानकारी दिए।
उनका अनुसार पहिरोमा परेर घाइते भएका ३५ वर्षीय विष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत् सदरमुकाममा रहेको हेलिप्याडमा ल्याएर उपचार गर्ने र थप उपचार गर्नु पर्ने भएमा त्यही हेलिकोप्टरबाटै विराटनगर पठाउने तयारी छ।हेलिप्याडमा घाइतेको उपचारका लागि डक्टरहरू पुगिसकेको प्रजिअ पोखरेलले जानकारी दिए।पहिलोमा परी ३४ वर्षीय यशोदा अधिकारी र ५९ वर्षीय तुलसा अधिकारीको मृत्यु भएको प्रजिअ पोखरेलले बताए।
गृहमन्त्री खाणले पहिरोबाट थप क्षति हुन नदिन सतर्क रहन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइसकेका छन्।उनको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असार २०७९, १० : ४५
लेखकबाट थप