अर्थमन्त्रीले बिचौलियाको चंगुलमा परेर राष्ट्रघात गरेकोले राजीनामा दिनुपर्छ : एमाले सांसद ढकाल

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १५ : २५
अर्थमन्त्रीले बिचौलियाको चंगुलमा परेर राष्ट्रघात गरेकोले राजीनामा दिनुपर्छ : एमाले सांसद ढकाल

काठमाडाैँ। नेकपा एमालेका सांसद भानुभक्त ढकालले अर्थमन्त्री जनार्दन शर्मालाई एमालेले अर्थमन्त्रीको रूपमा स्वीकार नगर्ने बताएका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकको सम्बन्धमा अर्थ मन्त्रालयको जवाफ दिन अर्थमन्त्री शर्मालाई कार्यसूचीमा राखेकोप्रति आपत्ति जनाउँदै सांसद ढकालले शर्मालाई अर्थमन्त्रीको रूपमा स्वीकार गर्न नसकिने बताएका हुन्।उनले भने, ‘जेठ १४ गते बेलुकी ७ बजेदेखि जेठ १५ गते बिहान ८ बजेसम्मको सिसिटिभी फुटेज हेरेर अपराधीहरूलाई कानुनको कठघरमा आउनका निम्ति संसदीय छानबिन समिति माग गरेको छौँ। एमाले संसदीय दलको तर्फबाट अहिलेका वर्तमान अर्थमन्त्रीलाई अर्थमन्त्रीको रूपमा स्वीकार गरेर न यो संसद, न सरकार, न वाह्य गतिविधिमा पनि दलको समर्थन नहुने व्यहोरा जानकारी गराउन चाहन्छु।’

उनले अर्थमन्त्रीले बिचौलियाको चंगुलमा परेर करको दर परिवर्तन गरी राष्ट्रघात गर्नुभएको बताए।एमालेले अर्थमन्त्रीको राजीनामा मागिरहँदा पनि कार्यसूचीमा अर्थमन्त्रीलाई हालेकोप्रति एमालेको असहमति र विरोध रहेको सांसद ढकालकाे भनाइ छ।

सांसद ढकालले भने, ‘अर्थमन्त्री बिचौलियाको चंगुलमा परेर करका दरहरू परिवर्तन गरेको र राष्ट्रघात गरेकोले राजीनामा दिनुपर्छ भन्ने हाम्रो दलको अडान रहेको व्यहाेरा विगतदेखि उठाउँदै आएका छौँ। त्यो विषयलाई बेवास्ता गरेर आजको कार्यसूचीमा पनि फेरि त्यही विषय ल्याइएको हुनाले योप्रति गम्भीर असहमति र विरोध रहेको छ। कतै यो बिचौलियाहरूको सञ्जाल अर्थमन्त्री मात्रै नभएर अर्थमन्त्री भन्दामाथि पनि जराले घर गरेको छ कि भन्ने ठाउँमा हामी पुगेका छौँ।’

त्यसैगरी, सांसद हृदयेश त्रिपाठीले पनि अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको माग गरे।

प्रतिक्रिया दिनुहोस