निजी क्षेत्रको सहकार्य बिना निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन असम्भवः प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १५ : ०५
निजी क्षेत्रको सहकार्य बिना निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन असम्भवः प्रधानमन्त्री देउवा

काठमाडाैँ।प्रधानमन्त्री शेरबहादुर देउवाले निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य बिना सम्भव नभएको बताएका छन्।

बिहीबार नेपाल चेम्बर अफ कमर्शले काठमाडौँमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो २०२२’ को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य बिना सम्भव नभएको बताएका हुन्।प्रधानमन्त्री देउवाले भने, ‘स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाइ निर्यात प्रवर्द्धन गरी व्यापार घाटालाई कम गर्न नेपालमा उत्पादन हुनसक्ने वस्तु तथा सेवा नेपालभित्रै उत्पादन गरी आयातलाई प्रतिस्थापन गर्ने सरकारको प्राथमिकताको विषय हुन्। निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन गर्ने विषय निजी क्षेत्रको सक्रिय सहभागिता एवं सहकार्य बिना सम्भव छैन।’

उनले निर्यात प्रवर्द्धन गरी आयात प्रतिस्थापनको लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए। प्रधानमन्त्री देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाएर निर्यात प्रवर्द्धन गरी मुलुकको व्यापार घाटालाई कम गर्दै नेपालमा उत्पादन हुनसक्ने वस्तु तथा सेवा स्वदेशभित्रै उत्पादन गरी आयातलाई प्रतिस्थापन गर्ने सरकारको पहिलो प्राथमिकता रहेको दाबी गरे।

उनले व्यापार एक्स्पो तथा प्रदर्शनीहरुमा स्वदेशी उत्पादन, कच्चा पदार्थ र नेपाली मौलिक प्रविधि, सीपबाट उत्पादित स्वदेशी वस्तुहरुलाई प्राथमिकताका साथ समावेश गरी वस्तुहरुको प्रचार–प्रसार तथा पहुँचमा जोड दिन आवश्यक हरेको बताए।

प्रधानमन्त्री देउवाले स्वदेशी वस्तुको प्रचार–प्रसारले निकासी प्रवर्द्धनमा सहयोग पुग्नुको साथै साना र मझौला उद्योगहरुको संरक्षण र दिगो विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले थपे, ‘निकासी प्रवर्द्धन गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ। यस्ता व्यापार मेला तथा प्रदर्शनीमा स्वदेशी उत्पादन, कच्चा पदार्थ र नेपाली मौलिक प्रविधिबाट उत्पादित सीपबाट उत्पादित स्वदेशी वस्तुहरुलाई प्रथमिकताका साथ समावेश गरी यस्तो वस्तुहरुको प्रचारप्रसार तथा पहुँचमा जोड दिन आवश्यक छ।’

प्रधानमन्त्री देउवाले चेम्बरले आयोजना गरेको व्यापार सम्मेलनले कोभिड–१९ बाट थलापरेको व्यापार व्यवसायमा थप गति र उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।

उनले नेपाली उत्पादनको बजारीकरण र अन्तर्राष्ट्रियकरण गरी नेपालको आर्थिक गतिविधिलाई चलायमान बनाउन यस्ता एक्स्पोले सहयोग गर्नेमा दुईमत नभएको दाबी गरे। प्रधानमन्त्री देउवाले नेपाली उत्पादनको निर्यात वृद्धि गर्न विदेशी लगानीकर्तालाई नेपालमा उद्योग व्यवसायमा लगानी गर्न उत्प्रेरित गर्ने बताए।

कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले अन्तर्राष्ट्रिय व्यापार सम्मेलन गर्नको लागि सरकारले छुट्टै स्थानको व्यवस्था गर्न माग गरे। मेलामा स्वदेशी उत्पादन तथा विदेशी नयाँ–नयाँ वस्तुहरु प्रदर्शनीको लागि राखिएको छ।

प्रतिक्रिया दिनुहोस