अमेरिकी सेना आउँछ भन्नु गलत प्रचार : सञ्चारमन्त्री कार्की

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १४ : १९
अमेरिकी सेना आउँछ भन्नु गलत प्रचार : सञ्चारमन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजना लागू भएपछि सेना आउन लागेको भन्ने प्रचार गलत भइरहेको बताएका छन् । उनले यस्ता भ्रामक प्रचारका पछाडि नलाग्न आग्रह गरे ।

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री कार्कीले नेपाल सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र भएको भन्दै अमेरिकी सेना होइन, कोही व्यक्तिसमेत नेपालमा आउन नसक्ने बताए ।

‘एमसीसी परियोजना कार्यान्वयनमा गइसकेको छ । यो नेपालमा संसद्‍बाट करिब–करिब सहमतिमा यो परियोजना पास भएर लागू भएको कुरा अवगतै छ । एमसीसी परियोजनाले नेपाली जनतालाई कसरी लाभ हुन्छ भनेर हामी पछि प्रतिफल आउन थालेपछि थाहा पाउने नै छौँ,’ उनले भने, ‘यसलाई समयमै सम्पन्न गरेर नेपाली समाजलाई लाभान्वित बनाउनका लागि सबैले प्रयास गरौँ ।’ उनले नेपालमा कोही व्यक्तिले भनेजस्तो सहज रुपमा कोही पनि नेपाल आएर बस्न सक्ने अवस्था नरहेको दाबी गरे ।

‘हाम्रो देश आफैँमा सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो । एक देशबाट अर्को देशमा आवत् जावत् गर्न निश्चित प्रक्रिया छन्, कानुन छन् । यसका बीच सेना आउने भन्ने कुरा गलत हो । यस्ता भ्रामक प्रचारका पछाडि नलागौँ,’ उनले भने, ‘कोही व्यक्ति वा सेना नै आउने र बस्ने कुरा गफमात्रै हो, यसमा कुनै सत्यता छैन ।’

प्रतिक्रिया दिनुहोस