नेपालको संवेदनशीलतामा असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी हुँदैन : नेपाली सेना

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, २० : ५७
नेपालको संवेदनशीलतामा असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी हुँदैन : नेपाली सेना

काठमाडौं । नेपाली सेनाले नेपालको विशिष्ट भूराजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी हुन नहुने बताएको छ । 

विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहदै आएको सहयोग र सहकार्य सन्दर्भमा हाल विभिन्न संचारमाध्यमहरुमा चर्चामा आएको एसपीपी सम्बन्धी समाचारहरुमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सेनाले विज्ञप्तिमार्फत यस्तो बताएको हो । 

अमेरिकासँग एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्ने तर्फ कुनै प्रक्रिया समेत नभएको सेनाले स्पष्ट गरेको छ । 

सेनाले भनेको छ, ‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भूराजनैतिक अवस्थिती एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा संचार जगतलाई जानकारी गराइन्छ ।’