चितवनमा नमुना राष्ट्र संघीय सम्मेलन सुरु, आठ विद्यालयबाट ८० विद्यार्थी सहभागी

सफल खबर संवाददाता

शुक्रबार, २० जेठ २०७९, ०८ : ०३
चितवनमा नमुना राष्ट्र संघीय सम्मेलन सुरु, आठ विद्यालयबाट ८० विद्यार्थी सहभागी

चितवन ।  चितवनको पर्यटकिय क्षेत्र सौराहामा विद्यार्थीहरुको सहभागितामा नमुना संयुक्त राष्ट्र संघीय महासभा सुरु भएको छ । संयुक्त राष्ट्रसंघको नमुना अभ्यास गराउने उद्देश्यका साथ चितवनमा यो सम्मेलन शुरु भएको हो । सम्मेलनमा जिल्लाका २ र काठमाडौंको ६ वटा गरी ८ विद्यालयका ८० विद्यार्थी सहभागी छन् । महासभा बिहीबार सुरु भएको हो । 

सभा सञ्चालक समितिमा २० जना विद्यार्थी रहनेछन् । कार्यक्रमको शुभारम्भ अघि आयोजित पत्रकार सम्मेलनमा भरतपुरको अङ्कुरम् एकेडेमीका प्रिन्सिपल सुमन पौडेलले आफ्नो विद्यालयबाट मात्र ३१ जना विद्यार्थी नमुना सभामा सहभागी हुने बताएका थिए । 

उनका अनुसार सभामा सहभागी विद्यार्थीहरूले विभिन्न देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय मानवअधिकार, अन्तर्राष्ट्रिय प्रेस, विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा रही आफ्ना परिषद्को एजेन्डामा विस्तृत छलफल गरी तार्किक विचारहरु प्रस्तुत गर्नेछन् । 

संयुक्त राष्ट्र संघको अवधारणा र अभ्यासको विषयमा विद्यार्थीलाई ज्ञान प्रदान गर्न यो कार्यक्रमको आयोजना गरिएको हो । जसले विद्यार्थीहरूको नेतृत्व विकास, कूटनीतिक सीपको विकास, वाककलाको सीपको विकासलगायतको सीप विकास हुने विश्वास छ । 

सिक्स ह्याट्स प्रालिको आयोजनामा सुरु भएको यो कार्यक्रम आइतबार प्रत्येक एजेन्डामा संकल्पपत्र तयार गरेर सम्पन्न हुनेछ । कार्यक्रममा सहभागीहरूमध्येबाट उत्कृष्ट तीनजना विद्यार्थी छनोट गरिनेछ । उनीहरू अमेरिकामा हुने नमुना राष्ट्र संघीय सम्मेलनमा सहभागी हुने र त्यसको २५ देखि ७५ प्रतिशतसम्मको खर्च सञ्चालक समूहले व्यहोर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस