बलिउडका चर्चित गायक केकेको निधन

एजेन्सी

बुधबार, १८ जेठ २०७९, ११ : ००
बलिउडका चर्चित गायक केकेको निधन

नयाँदिल्ली । बलिउडका चर्चित र लोकप्रिय गायक कृष्णकुमार कुननाथको मंगलबार राति कोलकातामा निधन भएको छ । उनलाई केकेको नामले चिन्थे ।

५३ वर्षका उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रममा नै उनले आफ्नो स्वास्थ्य बिग्रँदै गएको बताएका थिए । कार्यक्रमबाट फर्किएपछि उनलाई निजी अस्पताल लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव यतिबेला पोष्टमार्टमका लागि पठाइएको छ ।

अस्पताल पुगेका राज्यमन्त्री अरुप विश्वासले केकेको निधन भएको पत्रकारहरूलाई जानकारी दिए । उनले पत्रकारहरूसँग भने, ‘केकेको हृदयाघातका कारण मृत्यु भएको चिकित्सकको प्रारम्भिक अनुमान छ ।’ केकेलाई मृत अवस्थामा अस्पताल ल्याइएको पनि उनले बताए ।

तमिल, तेलुगु, कन्नड, मलायालम, मराठी, बंगाली र गुजराती फिल्ममा गीत गाएका केके कलकत्ताको गुरुदास कलेजमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका थिए । यो लाइभ शो नजरुल मञ्चमा भइरहेको थियो । तर कार्यक्रमकै क्रममा उनको स्वास्थ्य बिग्रिएपछि उनी होटल फर्किए । होटलका फ्यानले उनीसँग फोटो खिच्न आग्रह गरेका थिए । तर बिग्रिएको स्वास्थ्यका कारण उनले त्यसलाई अस्वीकार गरे । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई निजी अस्पतालमा पुर्‍याइयो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

केकेले धेरै बलिउड फिल्मका लागि गीत गाएका छन् । ‘हम दिल दे चुके सनम’ मा उनले गाएका ‘तडप तडप के इस दिल से…’ र ’ओम शान्ति ओम’ मा ’आँखों मे तेरी…’ लाई दर्शकले राम्रै रुचाएका थिए । उनले फिल्म ‘हम दिल दे चुके सनम’ बाट बलिउडमा पार्श्व गायकको रूपमा आफ्नो करियर सुरु गरेका थिए ।

केके प्रख्यात गायक र संगीतकार किशोर कुमारका छोरा अमित कुमारसँग नजिक थिए । अमितकी पत्नी रीमा गांगुलीले फेसबुकमार्फत केकेको मृत्युको जानकारी दिएकी छन् । केकेको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शोक व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘केके भनेर चिनिने गायक कृष्णकुमार कुननाथको आकस्मिक निधनले दुःखी भएको छु । उनका गीतहरूले फरक-फरक भाव राखेका छन् र उनका गीतहरूले सबै उमेर समूहका मानिसको मन छुने गरेका छन् । उनको परिवार र प्रशंसकहरूले उनलाई गीतमार्फत सम्झिने छन् ।’

प्रतिक्रिया दिनुहोस