मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने क्यानको निर्णय

सफल खबर संवाददाता

मंगलबार, १७ जेठ २०७९, १५ : ५८
मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने क्यानको निर्णय

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । प्राधिकरणले तारा एअरको विमान दुर्घटना भएसँगै उड्ने र पुग्ने स्थानको मौसम सफा नभएसँगै उडान अनुमति नदिने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णका अनुसार तारा एअरको विमान दुर्घटनालगत्तै क्यानले इनरुटको मौसम सफा नभएपनि उडानको अनुमति नदिने निर्णय गरेको हो । इनरुट भन्नाले विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटोसमेतलाई जनाउँछ । ती सबै स्थानको मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने निर्णय भएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका प्रवक्ता कर्णले भने, ‘अब हामीले इनरुट मौसम पनि सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरेका छौँ । पहिले विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा हामीले उडान अनुमति दिने गरेका थियौँ तर अब इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरेका छौँ । यसले हवाई दुर्घटना कम गर्न मद्दत गर्नेछ ।’

प्रवक्ता कर्णका अनुसार यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागु हुनेछ । उड्डयन क्षेत्रमा भिएफआर भन्नाले आँखाले हेरेर र विमान उडाउने र ल्याण्ड गर्ने विधि भन्ने बुझिन्छ । तर आईएफआर (इन्स्ट्रुमेण्ट फ्ल्याइट रुल्स) विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागु हुने छैन ।

प्रतिक्रिया दिनुहोस