स्थानीय निर्वाचन : चितवनमा गठबन्धनलाई एमाले एक्लै भारी

रासस

विहीबार, १२ जेठ २०७९, १० : ०४
स्थानीय निर्वाचन : चितवनमा गठबन्धनलाई एमाले एक्लै भारी

चितवन । यस पटकको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले) बीच प्रतिस्पर्धा भयो । केही पालिकामा एमालेले राप्रपालगायतका साना दलसँग तालमेल गरेपनि मतपरिणाम एमालेको लागि सुखद भएन ।

चितवनका दुई पालिकाको प्रमुख र उपप्रमुखमा एमालेले राप्रपासँग तालमेल गरेको थियो । तालमेल गर्दा पनि भरतपुर महानगरपालिकामा एमाले भारी मतान्तरले पराजित भयो । सत्तारुढ दलको केन्द्रीय निर्देशनअनुसार जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) लगायत पाँच दलबीच गठबन्धन भएको थियो ।

एमाले र राप्रपाबीचको तालमेल भने प्रभावकारी देखिएन । यद्यपि,  जिल्लाको समग्र चुनावी नतिजालाई विश्लेषण गर्दा पाँच दलीय गठबन्धनका दललाई एमाले एक्लै भारी परेको देखिन्छ । जिल्ला समन्वय समिति (जिसस) को प्रमुख र उपप्रमुख जित्न चाहिने मत गठबन्धन र एमाले दुवै पक्षलाई पुग्दैन । जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्षले भोट हाल्छन् । एमाले र गठबन्धनसँग समान सात भोट छ । जिससको निर्वाचनमा गोलाप्रथा हुने पक्का भएको छ ।

वडा सदस्यसहितको पदमा निर्वाचित जनप्रतिनिधिको संख्या हेर्ने हो भने एमाले अहिले पनि पहिलो शक्तिका रुपमा देखिन्छ । जिल्लाको सात पालिकाका ९८ वडामा ५०४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । तीमध्ये २४२ जना एमालेले उमेदवार उठाएका जनप्रतिनिधि हुन् ।कांग्रेसले उठाएका २०३ जना उमेदवार निर्वाचित भए भने माओवादी केन्द्रका ३६, राप्रपाका ११, समाजवादीका नौ र स्वतन्त्र उठेका तीन उमेदवार निर्वाचित भएका हुन् ।

दलगत रुपमा हेर्दा एमाले एक्लैले धेरै पालिका प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्ष जितेको छ । वडा अध्यक्ष भने धेरै गुमाएको छ । अघिल्लो पटक चार प्रमुख र पाँच उपप्रमुख जितेको एमालेले अहिले तीन प्रमुखरअध्यक्ष र चार उपप्रमुखरउपाध्यक्ष जितेको छ । ५७ वडा जितेकोमा अहिले ३६ वडामा चित्त बुझाउनु परेको छ । एमालेले माडी नगरपालिका प्रमुख, कालिका नगरपालिका प्रमुख र उपप्रमुख, इच्छाकामना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, खैरहनी नगरपालिका उपप्रमुख र रत्ननगर नगरपालिका उपप्रमुख जितेको हो ।

भरतपुरका ६, रत्ननगरका पाँच, खैरहनीका सात, राप्तीका आठ, कालिकाका चार, इच्छाकामनाका पाँच र माडीको एक गरी ३६ वडा जितेको छ । कांग्रेसले अघिल्लो चुनावमा एक पालिका अध्यक्ष, दुई उपप्रमुखरउपाध्यक्ष र ३५ वडा जितेको थियो । गठबन्धन गरेपछि यस पटक दुई प्रमुख, तीन उपप्रमुख र ४० वडा जितेको छ । गठबन्धनबाट धेरै फाइदा लिने दलमा कांग्रेस पहिलो नम्बरमा पर्दछ ।

खैरहनी र रत्ननगरको प्रमुख र भरतपुर, राप्ती र माडीको उपप्रमुख कांग्रेसले जितेको हो । कांग्रेसले भरतपुरको १६, रत्ननगरको नौ, खैरहनीको छ, राप्तीको तीन, कालिकाको पाँच र इच्छाकानाको एउटा वडा जितेको छ ।अघिल्लो पटक दुई प्रमुख जितेको माओवादी केन्द्रले गठबन्धनको सहारामा भरतपुरको एउटा प्रमुख मात्र जित्न सफल भयो । माडीमा एमालेले राप्रपासँग तालमेल गर्दै लोकप्रिय नेता उठाउँदा पार्टीभित्रै अन्तरघात भएपछि माओवादीले प्रमुख पद जित्न सकेन ।

माओवादीले पाएको कालिका, खैरहनी उपप्रमुख र इच्छाकामना उपाध्यक्ष पनि जित्न सकेन । अघिल्लो पटक छ वडा जितेकोमा यस पटक भने ११ वडा जित्न सफल भएको छ । माओवादीले भरतपुरको तीन वडा जितेको छ । गठबन्धनकै सहारामा यस पटक माओवादी केन्द्र पूर्वी चितवनका पालिकामा पसेको छ ।

अघिल्लो निर्वाचनमा एउटा वडा सदस्य पनि नजितेको माओवादीले यस पटक कालिकाका दुई र रत्ननगरको एक वडा जितेको छ । रत्ननगर, कालिका र राप्तीको गरी आठ वडा सदस्य जितेको छ । एमाले विभाजनपछि बनेको एकिकृत समाजवादीले गठबन्धनबाट राम्रो फाइदा लिएको छ । समाजवादीले राप्तीको प्रमुख जित्न सफल भयो भने भरतपुर, माडी र राप्तीका गरि छ वडा पनि आफ्नो पक्षमा पार्‍यो । एमाले र कांग्रेसबाट बागी उमेदवारी दिएका तीन जनाले यस वडा अध्यक्ष पद जित्न सफल भएका छन् ।

यस पटक राप्रपाले माडीमा आफ्नो शक्ति बढाएको छ । आन्तरिक रुपमा संगठनलाई बलियो बनाउँदै लगेको राप्रपाले यस पटक माडीका दुई वडा र पाँच सदस्य जित्यो । अघिल्लो पटक राप्रपाले जिल्ला भरका एउटा वडा पनि जित्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस