जनकपुरमा चलेन गठबन्धनको ‘जादू’ स्वतन्त्रले मारे ‘बाजी’

पत्रपत्रिकाबाट

मंगलबार, १० जेठ २०७९, ०६ : ४५
जनकपुरमा चलेन गठबन्धनको ‘जादू’ स्वतन्त्रले मारे ‘बाजी’

जनकपुर । वैशाख ९ गते नेपाली कांग्रेसका साधारण सदस्यता एवं नगरसभापति पदबाट राजीनामा दिएर जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साह सुडी निर्वाचित भएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिरालाई ३ हजार ९१३ मतान्तरले पराजित गरी निर्वाचित भएका हुन्। उनले १३ हजार ४६५ मत ल्याएको छन् भने उनको निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार हिराले ९ हजार ५५२ मत ल्याएका हुन्।

लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरी ५ हजार ३६० मत ल्याएर तेस्रो स्थानमा रहेका छन्। सत्तारुढ गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार एवं निवर्तमान मेयर लालकिशोर साहले ५ हजार १९३ मत ल्याएर चौथों स्थानमा झरेका छन्। त्यस्तै निर्माण व्यवसायबाट राजीनामा गरी मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतोले ४ हजार २९० मत ल्याएर पाँचौं स्थानमा पुगेका छन्।

यसअघि ०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवारी दिएका थिए, मनोज साहले। तर तत्कालीन राजपाको उम्मेदवार निवर्तमान मेयर लालकिशोर साह मनोजभन्दा दोब्बर मत ल्याएर निर्वाचित भएका थिए। निर्वाचनमा पराजित भएदेखि उनी नगरमा प्रतिपक्षको भूमिकामा रहेर काम गर्दै आएका थिए। नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा उनलाई सर्वसम्मतिबाट नगरसभापति बनाइएको थियो। तर वैशाख ३० गते भएको निर्वाचनमा पार्टीले उम्मेदवार नबनाएपछि उनले पार्टीको निर्णयलाई चुनौती दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए।

सत्तारुढ पाँच दलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा गरेको चुनावी तालमेलमा जनकपुरधाम उपमहानगरपालिका जसपाको भागमा परेपछि उनले असन्तुष्ट भएर पार्टीको साधारण सदस्यता त्याग गरी निर्वाचनमा उत्रेका थिए।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसबाट गठबन्धनको साझा उम्मेदवार किशोरी साह निर्वाचित भएका छन्। उनले एमालेकी उम्मेदवार रुणा झालाई ४ हजार ६४० मतान्तरले पराजित गरेका छन्। उनले १५ हजार ५२५ मत प्राप्त गरेका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार १० हजार ८८५ मत ल्याएकी छिन्। तेस्रो स्थानमा लोसपाकी उम्मेदवार निवर्तमान उपमेयर रिताकुमारी मिश्र रहेकी छिन् उनले ५ हजार ८१७ मत ल्याएकी छिन्। त्यस्तै स्वतन्त्र उम्मेदवार निर्मलकुमार चौधरी ३ हजार ७७२ मत ल्याएर चौथौं स्थानमा रहेका छन्। नागरिक दैनिकमा खबर छ ।