राप्ती नगरपालिकामा एमाले भित्र विवाद, नगर सचिव  सिंहमाथि कुटपिट

सफल खबर संवाददाता

आइतबार, ०८ जेठ २०७९, ११ : ०४
राप्ती नगरपालिकामा एमाले भित्र विवाद, नगर सचिव  सिंहमाथि कुटपिट

राप्ती । राप्ती नगरपालिकामा नगरप्रमुख र उपप्रमुख गुमाएको नेकपा एमाले भित्र पनि विवाद देखिएको छ ।

राप्ती नगरपालिकामा नेकपा एमालेको चुनावी समीक्षा बैठकमा कुटपिट भएको छ । राप्ती नगरको पदाधिकारी बैठकमा नगर सचिव तारकेश्वर सिंहमाथि एमालेका मेयर पदका उमेदवार गोविन्द कँडेलका छोरा सरोज कँडेलले कुटपिट गरेको आरोप लगाउँदै पीडित पक्षले चितवन प्रहरीमा उजुरी दिएको छ ।

आफूमाथि कुटपिट भएको भन्दै सिंहले शनिबार गोविन्द र सरोजविरूद्ध उजुरी दिएका छन् । छोरा सरोजले कुटपिट गरेको र बुबा गोविन्दले अपशब्द बोलेर गालीगलौज गरेको उजुरीमा आरोप लगाइएको छ ।

‘पार्टीको संगठित सदस्य पनि नरहेको व्यक्तिले आधिकारिक बैठक स्थलमा पसेर कुटपीट गरे, पीडित सिंहले भने दोषीलाई तत्काल गिरफ्तार र कारबाहीको माग गरेको छु ।’ पार्टी बैठकमा आफ्ना उमेदवारहरुको पराजयको कारणबारे समीक्षा भइरहेको अवस्थामा सिंहले चर्चित र जनजाति उमेदवार नहुनु पनि कारण रहेको बताएका थिए । तत्कालै बैठक कक्षनजिक बसेका सरोजले भित्र छिरेर एक्कासि कुटपिट गरेको उनको आरोप छ । कुटपिटको  क्रममा केही कुर्ची समेत तोडफोड भएको बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस