प्रदेश र संघमा गठबन्धन स्थानीयमा भन्दा सफल हुन्छ : उपाध्यक्ष राई

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, ११ : ५७
प्रदेश र संघमा गठबन्धन स्थानीयमा भन्दा सफल हुन्छ : उपाध्यक्ष राई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की उपाध्यक्ष जयन्ती राईले कम स्थानीय तहमा निर्वाचन जित्‍ने अवस्था भए पनि राजनीतिक लडाइँ भने जितेको बताएकी छिन् ।नेकपा एमालेलाई लक्षित गर्दै उनले निर्वाचनमार्फत प्रतिगामी प्रवृत्तिको दललाई ‘साइज’मा ल्याउन सकिएको बताइन् । ‘हामीले जुन प्रवृत्तिविरुद्धको लडाइँ लडेका थियौँ । निर्वाचन परिणामले त लडाइँ जितेको देखाइदियो । तर, पूर्ण सफल होइन । साइजमा चाहिँ ल्याउने काम भयो’।

पार्टी अध्यक्ष माधवकुमार नेपालले भने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बाट धोका पाएको आरोप लगाउँदै आएका छन् ।  सोमबार मदन आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले तालमेलबारे समीक्षा आवश्यक रहेको समेत बताएका थिए ।

तर, उनकै पार्टी उपाध्यक्ष राईले भने तालमेल सफल नै भएको बताएकी हुन् ।   प्रदेश र सङ्‍घीय निर्वाचनमा भने तालमेल अझ सफल हुने उपाध्यक्ष राईले बताइन् । ‘स्थानीय तहमा पो मतदाताले नातागोता हेर्छन् । प्रदेश र सङ्‍घमा त्यस्तो हुँदैन’, उनले भनिन्, ‘बढी तालमेल सफल हुने स्थानीयमा भन्दा पनि प्रदेश र सङ्‌‍घमा हुन्छ ।’ 

तालमेल सफल भएको दाबी गरिए पनि गठबन्धनलाई नै तोडेर धेरै ठाउँमा एमाले उम्मेदवारहरू विजयी भएका छन् ।  यद्यपि, पहिलेको तुलनामा एमालेले करिब ९५ स्थानीय तह भने गुमाउनुपर्ने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस