अमेरिकाले क्युबामाथिको प्रतिबन्धलाई सहज बनाउने

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, १७ : २९
अमेरिकाले क्युबामाथिको प्रतिबन्धलाई सहज बनाउने

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबामाथि लगाएको कठोर प्रतिबन्ध सहज पार्ने अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले स्वीकृत गरेको नयाँ कदममा पारिवारिक रेमिट्यान्स र क्युबा भ्रमणमा लागेको प्रतिबन्ध सहज बनाइने छ ।क्युबाली नागरिकका लागि अमेरिकी भिसा प्रक्रिया पनि तीब्र पारिने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यस कदमले क्युबाली नागरिकहरूलाई ‘सरकारी दमन’ बाट मुक्त जीवन बिताउन अनुमति दिने विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।यसअघि पूर्व राष्ट्रपति बाराक ओबामा प्रशासनले क्युबामाथि गरेको खुकुलोलाई कडाइ गर्दै सन् २०१७ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबामाथि प्रतिबन्ध लगाएको हो ।  

ट्रम्प प्रशासनले भिसा प्रक्रियामा कटौती, रेमिट्यान्समा प्रतिबन्ध  र अमेरिकी नागरिकहरूलाई पारिवारिक भ्रमणबाहेक अन्य कुनै कारणले क्युबा जान रोक लगाइएको थियो ।तर, बाइडेन प्रशासनको कदमलाई क्युबाले स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस