स्थानीय तह निर्वाचन

भोट नहालेको भन्दै कांग्रेसका उम्मेदवार रोकायाले गरे सर्वसाधारणमाथि कुटपिट

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, १५ : ३५
भोट नहालेको भन्दै कांग्रेसका उम्मेदवार रोकायाले गरे सर्वसाधारणमाथि कुटपिट

जुम्ला । नेपाली कांग्रेस पार्टीबाट चन्दननाथ नगरपालिका-८ बाट अध्यक्षमा उम्मेदवारी दिएका रुपबहादुर रोकायाले कार्यकर्तामाथि कुटपिट गरेका छन् । रोकायाले आफूलाई भाेट नदिएको भन्दै चन्दननाथ नगरपालिका-८ का कुमारविक्रम शाही र कमल बोहोरामाथि कुटपिट गरेका हुन् ।

रोकायाले भोट नहालेर धोका दिएको भन्दै कुटपिट गरेको पीडित पक्षको भनाइ छ । कुटाइबाट शाही घाईते भएका छन् । उपचारका लागि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ  ।

रोकायाले कुटपिट गरेका भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकाे छ । उजुरीमा उनीमाथि आवश्यक कारवाहीकाे माग गरिएकाे छ । पीडित शाहीले रोकायाले फोन गरेर काम छ भन्दै बाेलाएर कुटपिट गरेकाे बताए । पछि फेरि घरमा छलफल गरौँला भन्दै घरभित्र थुनेर सामुहिक कुटपिट गरेको प्रहरीमा  दिएको उजुरी उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते कुमार विक्रम शाहीको घाउ केस जाँच गर्न अस्पतालमा पठाएको र अनुसन्धान भइरहेकाे बताए ।  जुम्लाका प्रहरी निरीक्षक भुवन भट्टले यस विषयमा आफूलाई जानकारी नभएकाे बताए । 

प्रतिक्रिया दिनुहोस